विराटनगर । विराटनगरको सरस्वती माध्यमिक विद्यालयमा आइतबार बिहान करिब १० बजे शिक्षकहरू विद्यालयमा पुगिसकेका थिए । १२ बजेदेखि परीक्षा भएको कारण विद्यार्थीहरू सहभागी हुने गरी सोही समयमा विद्यालयमा पुगिसकेका थिए । हल भित्र परीक्षाको तयारी हुँदै थियो । बिहीबारको अङ्ग्रेजी  र शुक्रवारको नेपाली विषयको परीक्षा दिएका सबै विद्यार्थीहरू  परीक्षा हल भित्र बसिसकेका थिए । कापी बाँड्न केही समय बाँकी हुँदै गर्दा केही विद्यार्थीहरूको नाम तोकेरै बोलाइयो । 
आइतबारको परीक्षा अरू दिनको भन्दा अलिक कडाइ हुने सङ्केत देखियो । विद्यालयमा बनाइएको परीक्षा समितिले परीक्षामा सहभागी हुने विद्यार्थीहरूको विद्यालयमा उपस्थिति, उनीहरूले परीक्षा सञ्चालन सहयोग शुल्क बुझाएको नबुझाएको बारेमा अड्को थाप्न थाल्यो । 
परीक्षा हल भित्र बसेका धेरै विद्यार्थीहरूलाई प्रधानाध्यापकको कार्यकक्षमा लगियो । प्रधानाध्यापककै कार्यकक्षबाट उनीहरूलाई परीक्षा नै नदिलाई घर फर्काइयो ।   विद्यालयमा भएको यो घटनाले केहीबेर सन्नाटा छायो । केही विद्यार्थीहरू रुँदै आफ्नो घर तर्फ  लागे । कोही एक पटकलाई माफी गरिदिनुस् न भन्दै गुहार माग्दै थिए । ‘३ जना भक्कानिएर रोए, एउटा विद्यार्थीले आफ्नो आमाले कमाएर ल्याउनु हुन्छ अनि तिर्छु भन्दा पनि सरहरू मान्नु भएन’ एक विद्यार्थीले नाम नबताउने सर्तमा भने । त्यस्तो अवस्थामा पनि विद्यालयका को  शिक्षकहरू पनि बोल्न सकेनन् मूक दर्शक भएर रमिते बने ।
पुस १९ गतेदेखि नै परीक्षा सुरु भए पनि आइतबार देखि परीक्षा शुल्कमा कडाइ गरिएको विद्यालय श्रोत बताउँछ ।  विद्यालयमा ८३३ जना अध्ययन गर्ने गरी ईमिसमा  रेकर्ड भए पनि अहिले ७५० जना अध्ययनरत छन् । ती मध्ये ६५२ जना कक्षा ६ देखि १० सम्म पढ्ने गरेको विद्यालयले जनाएको छ।  कक्षा ६ देखि १२ सम्म पढाई हुने यस विद्यालयमा कक्षा ६ देखि १० सम्मको दोस्रो त्रैमासिक परीक्षाको पहिलो दिन १९ गते ५८२ विद्यार्थी सहभागी भएका थिए । दोस्रो दिनको परीक्षामा पहिलो दिनको सङ्ख्या बढेर ५८५ जना पुग्यो । आइतबारको परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्या घटेर ५२७ मा झर्‍यो । जब विद्यार्थीको सङ्ख्या एकाएक धेरै घट्नुमा परीक्षा सञ्चालन सहयोग शुल्क विद्यार्थीले नतिरेर विद्यार्थीलाई परीक्षामा सहभागी नगराएको भन्दै एकाएक हल्ला चल्यो ।  
५८ जना विद्यार्थी अनुपस्थिति हुनुको कारण विद्यालयले ती विद्यार्थीहरूलाई परीक्षामा सहभागी नगराएको आरोप लाग्दै आएको छ । 
विद्यालयले कक्षा ६ देखि ८ लाई प्रति विद्यार्थी १५० रुपैयाँ, कक्षा ९ र १० का विद्यार्थी कोलागि २०० रुपैयाँ परीक्षा सञ्चालन सहयोग शुल्क लिँदै आएको विद्यालयका कर्मचारी शिवकुमार साहले बताए । विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयका आधारमा यो लागु भएको विद्यालयले प्रशासनले जनाएको छ। तोकिएको शुल्क तिर्ने जति परीक्षामा सहभागी हुन पाए भनेँ शुल्क नतिर्ने विद्यार्थीहरूलाई परीक्षा दिनबाट वञ्चित गराइएको विद्यालयका शिक्षकहरू नै बताउँछन् ।
विद्यालयका शिक्षक तथा परीक्षा समितिका सदस्य रेवन्त बरालले ७५ प्रतिशत हाजिरी नभएको, नियमित विद्यालय नआउने, न्यून हाजिरी भएको विद्यार्थीका अभिभावकलाई ल्याएपछि मात्र परीक्षा दिलाउने भनिएको बताए । ‘हामीले विद्यार्थीलाई नियमित विद्यालय ल्याउने वातावरण बनाउन खोजेका हौँ, उनले भने, अभिभावकलाई विद्यालयमा नल्याउने विद्यार्थी ३० जनालाई पुन परीक्षा लिईने गरि फकाईएको हो ।’
विद्यालय प्रशासनले शैलेन्द्र नेपाल संयोजक रहेको विद्यालय स्तरीय परीक्षा समिति बनाएको छ। समितिले विद्यालयको पढाइलाई प्रभावकारी बनाउन नियमित विद्यालय नआउने विद्यार्थीको अभिभावकलाई विद्यालयमा बोलाउने र ७५ प्रतिशत उपस्थिति दरलाई पुरा गर्ने गरी योजना बनाएको दाबी विद्यालयका प्रधानाध्यापक अनिता नेपालको छ ।
२०८० साउन ३ गते आफू प्र.अ.मा नियुक्त भएपछि  विद्यालय सुधारको अभियान सुरु गरिएको उनको दाबी छ । विद्यार्थीलाई नियमित उपस्थिति गराई सिकाई उपलब्धि बढाउने, रिजल्ट नियमित वितरण गर्ने, रिजल्ट वितरण अभिभावकसम्म पुर्‍याउने, गुणस्तरीय शिक्षा दिने गरी अहिलेको अभियान चालिएको प्र अ नेपालको भनाई छ । परीक्षा हलमा बसेका धेरै विद्यार्थीलाई परीक्षा नदिई फिर्ता पठाइएपछि शिक्षक र प्रधानाध्यापकको बिचमा विवाद समेत भएको थियो । 

शिक्षा ऐनले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहमा निःशुल्क शिक्षा भनिएको छ । विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले परीक्षा दिन आएका विद्यार्थीलाई कुनै पनि हालतमा रोक्न नहुने बताए ।  ‘विद्यार्थीको उपस्थिति ७५ प्रतिशत अनिवार्य भनिए पनि त्यो अन्तिम परीक्षा कोलागि हो, उनले भने,  शुल्कको विषय हो भने पनि परीक्षासँग जोड्न पाइँदैन, त्यस बारेमा भोली देखि नै छानबिन हुन्छ ।’