इटहरी  । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले बुधबार  ६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयको ६८ औं वार्षिकोत्सवको अवसरमा बाल विकास देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको १८ लाख ५८ हजार ८६० रुपैयाँको ब्याजबाट प्राप्त ९८ हजार २७३ रुपैयाको छात्रवृत्ति रकम वितरण गरिएको हो । 

विद्यालयले इटहरी उपमहानगरपालिका नगरप्रमुख हेमकर्ण पौडेलका वाबु–आमा शेरबहादुर पौडेल र रेनुका पौडेलले स्थापना गरेको स्वर्गीय होमनाथ पौडेल स्मृति अक्षयकोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियो । यस्तै, नारायणप्रसाद खनाल र केशवकुमारी खनालद्दारा स्थापना गरिएको स्वर्गीय समीक्षा खनाल स्मृति अक्षयकोषबाट एक जनालाई प्रदान गरियो । 

विद्यालयले छात्रवृत्ति वितरण गर्न विभिन्न दाताहरुको सहयोगमा २३ वटा अक्षयकोष स्थापना गरिएको छ । सो अनुसारका छात्रवृत्ति वितरण गरिएको हो । कार्यक्रममा अक्षयकोष स्थापना गर्नेमध्ये १६ जनालाई सम्मान गरियो । यस्तै, पाँच जना शिक्षक–कर्मचारीलाई नगदसहित सम्मान गरियो । जसमा सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, रोमु कार्की, सचिन खत्री, पार्वती सिलवाल, भूपराज पुरी र कर्मचारी विष्णुकुमारी तामाङ्लाई नगदसहित सम्मान गरिएको हो । वार्षिकोत्सवमा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुनी काफ्लेलाई पनि सम्मान गरियो । 

वार्षिकत्सवको अवसरमा आर्थिक वर्ष २०७९÷०८० को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले गरे । जसमा आन्तरिक र बाह्य गरि वार्षिक आम्दानी पाँच करोड ६२ लाख ९५ हजार ६८६ रुपैयाँ र सञ्चालन खर्च पाँच करोड ५७ लाख सात हजार ५६८ रुपैयाँ प्रस्तुत गरिएको थियो । 

वार्षिकोत्सवको अवसरमा खेलकुदका विभिन्न विधामा उत्कृष्ट ३०० जनालाई पुरस्कार प्रदान गरियो । विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।।