इटहरी ।  इटहरी उपमहानगरपालिकामा रहेको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समितिको निर्वाचनमा राजनीतिक दलहरूले गठबन्धन गर्दै साझा उम्मेदवार घोषण गरेका छन् । 
क्याम्पसको आगामी साउन २० गते हुने व्यवस्थापन समितिको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका इटहरीका राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरेका हुन । आज इटहरीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार घोषणा गरिएको हो । 
इटहरीमा रहेका नेपाली काँग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पाटी, जनता समाजवादी पाटी र राष्ट्रिय स्वतन्त्र पाटी बिच निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको राजनीतिक दलहरूले पत्रकार सम्मेलनमा जानकारी दिए । 
गठबन्धन गर्दै साझा उम्मेदवार पठाउने निर्णय भएको नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति बालकृष्ण विष्टले जानकारी दिए । इटहरीको एक मात्र सामुदायिक क्याम्पसको संवागिण विकासका लागि मिलेर जाने सहमति भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष याम सुब्बाले विगतमा बेग्ला बेग्लै प्रतिस्पर्धा गरे पनि यस पटक सबै दलहरू बिच सहमतिमा अघि बढेको बताए । क्याम्पसको वृद्धि र विकासका लागि दलहरूले मिलेर जाने निर्णय गरेको अध्यक्ष सुब्बाले बताए । 
पत्रकार सम्मेलनमा गठबन्धन दलका तर्फका १३ जना उम्मेद्धारहरुको सामूहिक परिचय पनि गराइएको थियो । 
 परिचय कार्यक्रम पछि बोल्दै सदस्यका उम्मेदवार विकास केसीले जनता बहुमुखी क्याम्पसमा छात्रावास निर्माण गर्ने योजना रहेको बताए । पहाडी जिल्लाबाट आएका विद्यार्थीहरू डेरामा बस्दा महँगो र असुरक्षित महसुस गर्ने गरेका कारण छात्रावासको निर्माण गरिने एजेन्डा सुनाए । क्याम्पसको शैक्षिक गुणस्तर विकास गर्ने पनि उनले बताए ।
क्युएए प्राप्त गर्न सफल भएको साथै आगामी मङ्सिरबाट बिबिए सङ्काय पनि थप गर्ने अन्तिम तयारी रहेको जानकारी दिए । 
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका तर्फका सदस्य पदका उम्मेदवार रेवती घिमिरेले  जनता बहुमुखी क्याम्पस सामुदायिक क्याम्पस रहेको भन्दै त्रिभुवन विश्वविद्यालयबाट आङ्गिक क्याम्पसको रूपमा स्वीकृति ल्याएर दरबन्दी थप गर्ने आफूहरूको एजेन्डा हुने बताए । 
आगामी साउन २० गते व्यवस्थापन समिति सदस्य पदका लागि निर्वाचन हुँदै छ । बिहान ८ बजे सुरु हुने निर्वाचनले १३ जना सदस्य प्रतिनिधि चयन गर्ने छ । १३ जना सदस्य पदका लागि हाल ३२ जनाको उम्मेदवारी परेको छ । 
जनता क्याम्पसमा हाल नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य रेवतिरमण भण्डारी अध्यक्ष रहेका थिए । केही समय अघि भएको क्याम्पसको परिषद् बैठकले निर्वाचन प्रक्रियालाई संशोधन गरी पारित गरेको हो । 
पारित विधान अनुसार यस पटक सदस्य पदका लागि मात्रै निर्वाचन हुँदै छ । निर्वाचित समितिले थप ४ जना सदस्य मनोनीत गर्ने व्यवस्था रहेको छ । समितिमा ५ जना पदेन सदस्य रहने व्यवस्था छ । नयाँ समिति भित्रबाट अध्यक्ष सहित अन्य पदको बाँडफाँड हुनेछ । apil jmc