इटहरी । इटहरीको एक निजी विद्यालयमा आइतबार राती सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भयो । विद्यार्थीको मृत्यु भएपछि  अब ५वर्ष मुनिका बालबालिकालाई होस्टेलमा राख्न नपाउने गरी नियम लागु हुने भएको छ।  इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयको छात्रावास अनुगमन गर्दै ५ वर्ष मुनिका बालबालिकालाई होस्टेलमा राख्न निषेध गरेको हो ।  इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको नेतृत्वको टोलीले होस्टेलहरुको अनुगमन गरेको हो ।  होस्टेलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिस जोन आवासीय माध्यमिक विद्यालय, जोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिन पिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा पौडेलको टोलीले पहिलो पटक अनुगमन गरेको हो । 
अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र छात्रावास अनुगमन गरिएको थियो । जसमा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइएको मेयर पौडेलले बताए । उनले होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरी सञ्चालन गरेको  बताए  । 
उनले मापदण्ड पुरा नगरीकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेल रुममा उपमहानगरपालिकाले तालाबन्दी गरेको छ ।
सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पुरा गरेपछि मात्र होस्टेल सञ्चालन गर्न दिइने उपमहानगरपालिकाले जनाएको छ। सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनिस श्रेष्ठको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरी आफन्तले शव बुझेर मङ्गलवार दाहसंस्कार गरेका छन् ।
अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर अघि बढ्न भनिएको नगरप्रमुख पौडेलले बताए । उनले पाँच वर्ष भन्दा मुनिका बालबालिकाहरूलाई होस्टेलमा राख्न नपाइने नियम समेत ल्याइएको जानकारी दिए।

अनुगमनमा उपमहानगरकी उपप्रमुख संगिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता, शिक्षा शाखाका फाल्गुनी काफ्ले लगायतका टोलीले विद्यालयहरूमा सहभागी थिए ।