सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूले रामधुनीको साई हस्पिटलमा २५ प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान कल्याण सहकारीका सदस्यहरूलाई साई हस्पिटलले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा दुई पक्ष बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा किसान कल्याण साकोसका तर्फबाट अध्यक्ष शालिकराम ढकाल र हस्पिटलको तर्फबाट सञ्चालक दुर्गा प्रसाद फुयाँलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सहकारीका सदस्यहरूले छुट कार्ड पाउनेछन् । उक्त कार्डबाट सदस्यहरूले न्यूनतम १० देखि अधिकतम २५ प्रतिशत सम्म छुट सुविधा पाउनेछन् ।यो छुट सुविधा हस्पिटलले प्रदान गर्ने सम्पूर्ण सेवामा लिन सकिने किसान कल्याणका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
सम्झौतामा सहकारी र हस्पिटलले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविरहरू नियमित रूपमा सञ्चालन गरिने समेत उल्लेख छ । सोही अनुसार किसान कल्याण सहकारी र साई हस्पिटलले संयुक्त रूपमा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । शनिवार आयोजित स्वास्थ्य शिविरमा सुगर,प्रेसर चेक जाँच,बाल रोग,स्त्री तथा प्रसूति रोगका विशेषज्ञ डाक्टरहरूको सेवा साथै निःशुल्क रूपमा विभिन्न प्रकारका औषधीहरू वितरण गरिएको थियो । रामधुनी ६ स्थित आदर्श मा.वि. बक्लौरीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा एक सय १० जनाले सेवा लिएका थिए ।
सहकारी संस्थाले कार्यक्षेत्र भित्र प्रत्येक वर्ष नियमित रूपमा सामाजिक तथा सामुदायिक कार्यक्रमहरू आयोजना गर्ने गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री पुष्कर बस्नेतले जानकारी दिए ।

















