इटहरी । इटहरीको द योङ्ग ब्रदर्स क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको छ । २५६७ औँ बुद्ध जयन्तीकोे अवसर पारेर क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तदान कार्यक्रममा १ सय २१ जनाले रक्तदान गरेका छन् । क्लबका सदस्य, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, नागरिक समाज, उद्योग वाणिज्य संघ,राजनितिक दल, युवा क्लबका सदस्यहरु तथा अन्य युवा तथा विद्यार्थीहरुले रक्तदानमा सहभागिता जनाउँदै रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलले रगतको अभावका कारण कसैको ज्यान गुम्न नहुने बताए । क्लबले आयोजना गरेको रगत संकलनले मानिसको जिवन जोगाउन महत्पूर्ण योगदान पुर्याउने पौडेलले बताए ।
कांग्रेस इटहरीका नेता तथा क्लबका संरक्षक विकास केसीले क्लबले विगतमा गरेका कामको बारेमा चर्चा गरेका थिए । सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्दै आएको क्लबले विगतमा बालआश्रम, बृद्वाश्रम तथा विभिन्न समयका विपदमा सहयोग गरेको बताए । आगामी दिनमा समेत थप नयाँ योजनासहित काम गर्न नेता केसीले सुझाव दिए ।
क्लबका अध्यक्ष विजय सुब्बाले समाज सेवा नै क्लबको मुख्य उद्देश्य रहेको बताए । इटहरीमा खेलकुद क्षेत्रको स्तरोन्नति गर्न समेत क्लबले भूमिका निर्वाह गर्ने उनले बताए ।

कार्यक्रममा क्लबका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

















