सुनसरी — विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लब रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान–१६ स्थित धरान रंगशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफले उपाधि यात्रा तय गरेको हो।

विभागीय फुटबलका दुई बलिया टोलीबीचको प्रतिस्पर्धामा एपीएफले पहिलो हाफमै २ गोल गरेको थियो। एपीएफको जितमा कप्तान अनिता बस्नेत र गीता राणाले गोल गरे।

खेलको नवौँ मिनेटमा कप्तान अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन्।

पहिलो हाफको अन्तिम समयमा एपीएफले पेनाल्टी पाएको थियो। आर्मीकी दीपा शाहीले एपीएफकी रश्मिकुमारी घिसिङलाई फाउल गरेपछि रेफ्रीले एपीएफलाई पेनाल्टीको अवसर दिएका थिए।

उक्त अवसरलाई गीता राणाले गोलमा परिणत गर्दै पहिलो हाफको ४४औँ मिनेटमा एपीएफको अग्रता २–० पुर्‍याइन्।

दोस्रो हाफमा आर्मीले गोल फर्काउन प्रयास गरे पनि एपीएफको रक्षापंक्ति तोड्न सकेन। अग्रता जोगाउन सफल एपीएफले अन्ततः २–० को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

यससँगै एपीएफ प्रतियोगिताको उपाधिबाट एक जित टाढा पुगेको छ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बिहीबार नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा एपीएफसँग उपाधिका लागि भिड्नेछ।

डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ईभी स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता मंसिर ५ गते सम्पन्न हुनेछ।