विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहको नेतृत्वमा सुरु भएको मेची महाकाली पदयात्रा आज झापाको राजगढबाट अगाडि बढेर गौरीगञ्जसम्म पुग्ने कार्यक्रम रहेको छ।

बिहान राजगढबाट सुरु भएको यस यात्रामा सांसदहरूसँगै स्थानीय जनप्रतिनिधिहरूको पनि उल्लेख्य सहभागिता रहेको छ।   पदयात्राको क्रममा टोली झापा गाउँपालिका वडा नम्बर ४ मा पुगेको थियो। उक्त यात्रामा झापा क्षेत्र नम्बर ४ का सांसद शम्भु प्रसाद ढकाल र क्षेत्र नम्बर ३ का माननीय प्रकाश पाठक लगायतका स्थानीय जनप्रतिनिधि तथा अन्य सहभागीहरू सँगै थिए। 


पाठकले हिजो दिनभर यात्रामा सहभागिता जनाएपछि आज आफ्नो क्षेत्र सकिएसँगै झापा क्षेत्र नम्बर ४ का सांसदलाई हस्तान्तरण गरेका थिए। पदयात्रालाई राजनीतिक भ्रमणभन्दा पनि जनमुखी बनाइने दाबी सिंहको छ। यात्राको मुख्य उद्देश्य स्थानीय आम जनताको घरदैलोमा पुगी उनीहरूको समस्या, गुनासा तथा सुझावहरू सुन्ने र नोट गर्न  सचिवालयलाई परिचालन गरेका छन्। 


जनताका गुनासा र समस्याहरूलाई बुझ्दै सोही अनुसार अगाडि बढिरहेको यस पदयात्राले स्थानीय स्तरमा जनता र जनप्रतिनिधिबिचको दूरी घटाउन मद्दत पुग्ने विश्वास गरिएको छ। उनले अभियानको क्रममा ठाउँ गाउँमा अन्तरक्रिया र छलफल समेत गरेको सिंहको सचिवालयले जनाएको छ। छठमा  उदाउँदो सूर्यलाई अर्घ दिएपछि आईतावार झापा पुगेका सिंहले सोमबार बिहानदेखि मेची–महाकाली पदयात्रा सुरु गरेका थिए। 


उनको यो अभियान आज प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पुगेर छलफल गर्ने र त्यहीँ बस्ने कार्यक्रम रहेको छ। क्षेत्र नम्बर ५ को गौरीगञ्जमा आज त्यहीँ बस्ने कार्यक्रम रहेको सांसद सिंहको सचिवालयले जनाएको छ।