विराटनगर। विराटनगरका व्यवसायीले विराटनगरबाट कार्गो रेल नियमित सञ्चालनको माग गरेका छन्। कोशी प्रदेशको राजधानी विराटनगरलाई मुलुककै प्रमुख ‘लजिस्टिक हब’ का रूपमा विकास गर्न कार्गो रेलको नियमित सञ्चालन तथा पारवहन शुल्क घटाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको हो।
पारवहन व्यवस्थापन तथा कार्गो रेल सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरूले कार्गो रेलको नियमित हुनु पर्नेमा जोड दिएका हुन्।
मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनिल कुमार साहले एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको व्यापारिक पहुँच मार्ग, भारतीय बन्दरगाहदेखिको रेल सञ्जाल र नेपाल कस्टम यार्ड (एनसीवाई) जस्ता पूर्वाधार उपलब्ध भएकाले विराटनगर लजिस्टिक हब बन्न पूर्ण रूपमा सक्षम रहेको बताए।
तर, उच्च कार्गो ह्यान्डलिङ शुल्क, मौसम–अनुकूल अत्याधुनिक गोदाम तथा बल्क कार्गो अनलोडिङ उपकरणको अभाव र बन्दरगाहदेखिको ढुवानीमा हुने प्रक्रियागत ढिलाइका कारण कार्गो रेल निर्वाध सञ्चालन हुन नसकेको उनले उल्लेख गरे। जीर्ण बन्दै गएका रेल्वे पूर्वाधारको तत्काल मर्मत गरी कार्गो सेवा शुल्क तथा पारवहन लागत न्यूनीकरण गर्न व्यवसायीको माग छ।
उद्योगी अनिल सारडाले थोरै परिमाणमा कन्टेनर आयात गर्ने साना तथा मझौला व्यवसायीसमेत लाभान्वित हुने गरी नीतिगत सुधार गर्नुपर्ने बताए। अर्का व्यवसायी विकास कुमार बेगवानीले कार्गो सेवा शुल्क घटाइए उद्योगी, व्यवसायी र आम उपभोक्ता सबै पक्षलाई राहत पुग्नेमा जोड दिए।
नेपाली र भारतीय कस्टम यार्डबीचको शुल्क तथा ढुवानी लागतको समस्या समाधान गर्न र रेल्वेको नियमित सञ्चालनका लागि स्पष्ट कार्य ढाँचा बनाउन उनीहरूको माग छ।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले व्यवसायीले उठाएका समस्या समाधानका लागि आफ्नो निकायबाट यथाशक्य साथ र सहयोग रहने प्रतिबद्धता जनाए।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक ई.आदर्श काफ्ले, ट्रान्स नेपाल फ्राईट सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक मुकेश कुमार राठी र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आ–आफ्ना निकायको कार्यक्षेत्र र सहजीकरणका प्रयास भइरहेको बताएका थिए।
कार्यक्रममा मोरङ–सुनसरी आर्थिक कोरिडोरका आयातकर्ता तथा निर्यातकर्ता उद्योगी–व्यवसायी सहभागी थिए।











