सुनसरी । नेपालीहरूको महान् पर्व बडादशैँको दोस्रो दिन सोमबार देशभरका शक्तिपीठ तथा घरघरमा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ।
आश्विन शुक्ल द्वितीयाका दिन भक्तजनले दशैँघर तथा पूजाकोठामा ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र मनोकामना पूरा होस् भन्ने कामना गर्ने धार्मिक परम्परा छ। नवरात्रका अवसरमा देशभरका देवी मन्दिर तथा शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ।
नवरात्रको पहिलो दिन आइतबार घटस्थापना गरी दशैँघरमा जमरा राखिएको थियो। घटस्थापनासँगै सुरु भएको नवरात्रमा नौ दिनसम्म नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। यस अवधिमा दुर्गा सप्तशती, चण्डी तथा देवीका स्तोत्र पाठ गर्ने परम्परा छ।
धार्मिक मान्यताअनुसार ब्रह्मचारिणी देवी तपस्या, त्याग, संयम र साधनाको प्रतीक हुन्। उनको पूजा आराधना गर्दा शक्ति, धैर्य र आत्मबल प्राप्त हुने विश्वास गरिन्छ।
दशैँ नजिकिँदै जाँदा घरघरमा पूजाआजाको तयारीसँगै चाडपर्वको रौनक पनि बढ्दै गएको छ।
नवरात्रका नौ दिनसम्म देवीको आराधना गरेपछि विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
बडादशैँ धार्मिक आस्था, पारिवारिक पुनर्मिलन र सामाजिक सद्भावको पर्वका रूपमा मनाइन्छ।











