सुनसरी । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ। बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिँदैछ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले दिनभर चित्रा नक्षत्र रहेकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको जानकारी दिएका छन् ।
सूर्योदयका समयमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको उनले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको प्रचार शास्त्रसम्मत नभएको पनि उनले स्पष्ट पारे।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं हर्षोल्लासका साथ मनाउने गरिन्छ। घटस्थापनाका दिन घरको पूजा कोठा वा दशैंघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आरम्भ गरिन्छ।
यस दिन गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैंघरमा पवित्र स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ। जौको अंकुर दुर्गा भवानीको प्रिय वस्तु मानिने भएकाले जमरा उमारेर देवीलाई अर्पण गरिन्छ।
दशैंको दसौँ दिन अर्थात् विजयादशमीमा टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गर्ने चलन छ। जमरालाई समृद्धि, शुभता र विजयको प्रतीकका रूपमा लिइन्छ।











