सुनसरी — कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका विजय साहको घटनामा सुरक्षाकर्मीको लापरबाही देखिएको छानबिन समितिको निष्कर्ष छ । समितिले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सिफारिस गरे पनि घटनाको ९ महिनाभन्दा बढी बित्दा सहमति कार्यान्वयन भएको छैन ।
१७ पुस २०८२ मा सीमा क्षेत्रमा भएको तनावका क्रममा गोली लागेर साहको मृत्यु भएको थियो । घटनापछि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा गठित समितिले सात दिनभित्र प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा सुरक्षाकर्मीको लापरबाहीले गोली चलेको उल्लेख गर्दै कारबाही र क्षतिपूर्तिको सिफारिस गरिएको समितिका एक सदस्यले बताए ।

घटनापछि भएको पाँचबुँदे सहमतिमा पीडित परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने, मृतककी पत्नीलाई रोजगारीका लागि पहल गर्ने र छोरा सशस्त्र प्रहरीमा भर्ना हुन इच्छुक भए सहजीकरण गर्ने उल्लेख छ । तर जिल्ला प्रशासन स्रोतका अनुसार गृह मन्त्रालयले क्षतिपूर्ति रकम स्थानीयस्तरबाटै व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
यसअघि देवानगञ्जमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका तीन युवाका परिवारले करिब एक महिनाभित्रै जनही १० लाख रुपैयाँ क्षतिपूर्ति पाएका थिए । घाइतेको उपचार खर्चसमेत सरकारले बेहोरेको थियो ।
‘देवानगञ्जका पीडितले क्षतिपूर्ति पाए, हाम्रो घटनामा पनि प्रहरीकै लापरबाहीले मृत्यु भएको प्रतिवेदन छ । तर अहिलेसम्म केही पाएका छैनौं,’ मृतककी पत्नी गीताकुमारी साहले भनिन् । श्रीमान्को मृत्युपछि घरखर्च चलाउन १५ लाख रुपैयाँभन्दा बढी ऋण लागेको उनले बताइन् ।

सहमति कार्यान्वयन नहुँदा पीडित परिवार न्यायबाट वञ्चित भएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि बढेको छ । यसले सीमा सुरक्षामा स्थानीयको सहयोग र सशस्त्र प्रहरीसँगको समन्वयमा समेत असर पर्न सक्ने सुरक्षा स्रोतको भनाइ छ ।
पीडित परिवारले छानबिन प्रतिवेदन सार्वजनिक गर्न, दोषीमाथि कारबाही गर्न, क्षतिपूर्ति उपलब्ध गराउन तथा रोजगारी र भर्नासम्बन्धी प्रतिबद्धता पूरा गर्न माग गरेको छ । सहमति कार्यान्वयनमा थप ढिलाइ भए पुनः आन्दोलनमा उत्रिने परिवारले चेतावनी दिएको छ ।










