सुनसरी । उच्च शिक्षा अध्ययनका लागि जापान जाने नेपाली विद्यार्थीको आकर्षण बढिरहेका बेला इटहरीस्थित भरोसा एजुकेसन कन्सल्टेन्सीबाट जापानको अध्ययन भिसा प्राप्त गरेका आठ विद्यार्थीलाई मंगलबार बिदाइ गरिएको छ।
इटहरीमा आयोजित कार्यक्रममा जापान जान लागेका विद्यार्थीलाई अध्ययनका क्रममा मेहनत, अनुशासन र भाषिक दक्षतामा ध्यान दिन वक्ताहरूले सुझाव दिए। कार्यक्रममा सहभागी वक्ताहरूले विदेशमा अध्ययनलाई केवल रोजगारीको अवसरका रूपमा नभई नयाँ ज्ञान, सीप र अनुभव हासिल गर्ने माध्यमका रूपमा लिन विद्यार्थीलाई आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि सीबी कलेज इटहरीका अध्यक्ष देशबन्धु कार्कीले विदेशमा अध्ययन तथा काम गर्दा मेहनत, अनुशासन र सीपलाई प्राथमिकता दिनुपर्ने बताए। आफू लामो समय अस्ट्रेलियामा बसेर नेपाल फर्किएको अनुभव सुनाउँदै उनले विदेशमा हासिल गरेको ज्ञान र सीपलाई भविष्यमा आफ्नै देशमा उपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।
‘विदेशमा अध्ययन गर्दा त्यहाँको शिक्षा र सीपसँगै काम गर्ने संस्कृति पनि सिक्नुपर्छ,’ कार्कीले भने, ‘विदेशमा सिकेको ज्ञान, अनुभव र सीपलाई आफ्नो भविष्यसँग जोड्दै कुनै दिन देशमै फर्किएर उपयोग गर्न सक्नुपर्छ।’
जापान जान लागेका विद्यार्थीका लागि भाषिक तयारीलाई पनि महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो। लामो समय जापान बसेर नेपाल फर्किएका भरोसा एजुकेसनका सञ्चालक तथा जापानी भाषा शिक्षक मदन बनले जापानमा अध्ययन र दैनिक जीवन सहज बनाउन जापानी भाषाको राम्रो ज्ञान आवश्यक रहेको बताए।
उनका अनुसार जापान पुगेपछि विद्यार्थीले अध्ययनसँगै स्थानीय समाज, कार्यसंस्कृति र नियम बुझेर अघि बढ्नुपर्ने हुन्छ। ‘जापानमा बस्दा भाषा अत्यन्त महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘भाषा राम्रो भयो भने अध्ययन, काम र दैनिक जीवनका धेरै कुरा सहज हुन्छन्।’
भरोसा एजुकेसनका सञ्चालक नुतन लुइँटेलले जापान जान लागेका विद्यार्थीलाई बधाई दिँदै उनीहरूको सफल शैक्षिक यात्राको शुभकामना दिए। उनले विद्यार्थीलाई विदेशमा अध्ययनका क्रममा आफ्नो मुख्य उद्देश्यलाई प्राथमिकतामा राख्न आग्रह गरे।
जापानमा अध्ययनका लागि जाने विद्यार्थीले शैक्षिक तयारीसँगै भाषा, आर्थिक व्यवस्थापन, बसाइ तथा त्यहाँको नियम–कानुनबारे जानकारी लिनुपर्ने कार्यक्रममा सहभागीहरूले बताएका थिए। विदेशमा अध्ययनका क्रममा आउने चुनौती सामना गर्न आत्मनिर्भर र जिम्मेवार भएर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।
पछिल्लो समय इटहरीसहित पूर्वी नेपालका विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि विभिन्न मुलुक जाने गरेका छन्। जापान पनि अध्ययनसँगै सीप तथा कामको अनुभव हासिल गर्ने गन्तव्यका रूपमा विद्यार्थीको रोजाइमा पर्दै आएको छ। विद्यार्थी तथा अभिभावकले विदेश अध्ययनलाई भविष्य निर्माणसँग जोडेर हेर्न थालेसँगै शैक्षिक परामर्श सेवाको भूमिकासमेत बढेको छ।
कार्यक्रममा इटहरी जेसीजका पूर्वअध्यक्ष लोकनाथ भण्डारी, सामाजिक अभियान्ता तथा ब्यबसायी चेवन खतिवडा, कन्टेन्ट क्रिएटर दीपक गौली, सम्भावना भण्डारीलगायतले जापान जान लागेका विद्यार्थीलाई शुभकामना दिए।
भरोसा एजुकेसनबाट जापानको अध्ययन भिसा प्राप्त गरेका आठ विद्यार्थीलाई कार्यक्रमबीच बिदाइ गरिएको थियो। उनीहरूलाई जापानमा सफल शैक्षिक यात्रा, सुरक्षित बसाइ र उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो।











