विराटनगर । धरानका दुई वटा विद्यालयमा शिक्षकको व्यवस्था गर्नु पर्ने भन्दै आमरण अनशनमा बसेका रोजन शङ्करले अनशन तोडेका छन् । धरानका कार्यवाहक मेयर आइन्द्र बिक्रम बेघाले बाल सञ्जालका प्रतिनिधिसँग ५ बुँदे सहमति गरेपछि उनले अनशन तोडेका हुन् । अनशनका क्रममा माग सुनुवाइ नभएको भन्दै केही दिन अघि उनले अनशन स्थलमै फिनेल खाएका थिए । फिनेल खाएपछि उनलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रतिष्ठानमै पुगेर बेघाले उनलाई जुस खुवाएपछि उनले अनशन तोडेका हुन् ।
धरानको ज्ञानोदय माविमा नेपाली शिक्षक र सरस्वती माविमा नेपाली शिक्षकको माग गर्दै बाल सञ्जाल धरानले आन्दोलन गर्दै आएको थियो । ज्ञानोदयमा ३ वर्ष देखि र सरस्वतीमा ९ महिनादेखि शिक्षक अभाव रहेको बाल सञ्जालले जनाएको छ । शङ्करले फिनेल खाएपछि ती दुवै विद्यालयमा शिक्षक नियुक्तिको प्रक्रिया सुरु भएको छ । शिक्षक नियुक्तिका विषयमा कार्यवाहक मेयर बेघाले सम्झौता गरेका छन् ।











