इटहरी । धरानमा रहेका दुई वटा विद्यालयमा शिक्षक नियुक्तिको माग गर्दै कार्यवाहक मेयरको कार्यकक्षमा आमरण अनशन बसेका रोजन शङ्करले फिनेल खाएपछि अनशन स्थलमा कसले फिनेल पुर्यायो भन्ने बिषय विवादमा परेको छ ।
मेयरको कार्यकक्षमा अनशनमा बसेका बेला शङ्करले केही दिन अघि फिनेल खाएका थिए ।
फिनेल खाएका शङ्करको अवस्था सामान्य भए पनि उनी अहिले पनि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा नै छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भिषणबहादुर राईले शङ्करको अवस्था ठिक भइसकेको बताए ।
उनले भने, अवस्था ठिक भए पनि अब्जरभेसनामा राखिएको बताए ।
धरान ११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा तीन वर्षदेखि नेपाली विषयको शिक्षक नभएको र धरानको ६ पानवारिमा रहेको सरस्वती माविमा सामाजिक शिक्षकको नभएको भन्दै बालसञ्जालको नेतृत्वमा आन्दोलन हुँदै आएको थियो ।
शिक्षक व्यवस्थापनको माग राख्दै गत बिहीबारदेखि आन्दोलनमा रहेका बालसञ्जालमा आबद्ध विद्यार्थीहरूको माग सुनुवाइ नभएपछि सञ्जालका पूर्व अध्यक्ष शङ्कर आमरण अनशनमा बसेका थिए । बाल सञ्जालले आन्दोलन सुरु गरेपछि नेचर धरान नामक संस्थाले समेत सो आन्दोलनलाई साथ दिएका थिए ।
सो आन्दोलनलाई धरानका केही राजनीतिक दलका नेताहरूले समेत साथ दिएका थिए । सुनसरी क्षेत्र नम्बर १ बाट रास्वपा बाट उम्मेदवार बनेकी गोमा तामाङ सरिन समेत सो आन्दोलनमा पुग्ने गरेकी थिइन । फिनेल खाँदा समेत उनी त्यही थिइन ।
आमरण अनशनमा बसेका शङ्करले सवैका अगाडि फिनेल खाएका थिए ।
घटनापछि फिनेल कसले, कहाँबाट र कसरी अनशन स्थलसम्म ल्यायो भन्ने विषयमा अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन । सार्वजनिक भएको भिडियोमा एक जना युवाले रातो झोला शंकरलाई दिएको देखिन्छ । झोला दिने व्यक्ती बाल सञ्जालका पदाधिकारी हुन् । सोही झोलामा फिनेल दिएको अनुमान गरिएको छ ।
प्रहरी नायब उपरीक्षक राईले घटनाका विषयमा छानबिन र अनुसन्धान भइरहेको बताए । उनले भने अहिले नै यसै भन्न सक्ने अवस्था रहने हामी यस बारेमा अनुसन्धान गरिरहेका छौ ।
फिनेल खानु भन्दा डेढ घण्टा अगाडि नै थियो हल्ला
अनशनमा बसेका शङ्करले फिनेल खानु भन्दा अगाडि नै फिनेल खाने तयारी भएको हल्ला धरानमा कन्टेन्ट क्रिएटरहरुका बिचमा फैलिएको थियो । केही पत्रकारहरिलाई समेत फिनेल खाने बारेको सूचना दिइएको थियो । सूचना पाएपछि केही पत्रकार अनशन स्थलमा समेत पुगेका थिए ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले समेत आफूलाई समेत जानकारी आएको बताए । घटना पछि भएको सर्वपक्षीय बैठकमा गोमा तामाङ सरिले समेत आफूलाई सञ्चिता धमलाले फोन मार्फत जानकारी दिएको बताएकी छन् । तामाङका अनुसार धमलाले फोन गरेर ‘अनशन बसेका रोजनले आत्मदाह गर्ने भन्दै फिनेल सेवन गर्दैछन’ भनी जानकारी दिएकी थिइन ।
त्यसपछि आफूले फोनमार्फत रोजनलाई त्यस्तो नगर्न आग्रह गरेको र त्यसपछि तत्काल अनशन स्थल पुगेको केही समयमै रोजनले फिनेल सेवन गरेको तामाङले बैठकमा बताएकी थिइन । सो विषयलाई लिएर कति पयले फिनेल नै धमलाले दिएको भन्दै उनको आलोचना गरेका छन् । तर धमलाले भने यसको प्रतिवाद गरेकी छन् ।
धरानका कावा प्रमुख अइन्द्रबिक्रम बेघाले फिनेल अनशन स्थलमा कसरी पुग्यो भन्ने कुरा सिसिटिभी फुटेज हेरेर सार्वजनिक गर्ने बताए ।











