सुनसरी । प्रहरीले धनकुटाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।


धनकुटाको शहीदभूमि गाउँपालिका–७ चाम्चास्थित २१ वर्षीय प्रगत राईको घरकोठा खानतलासी गर्दा ट्रामोल ५० (२९ पत्ता) र स्पास्पाइन  (२९० ट्याब्लेट) बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी आँखिसल्ला धनकुटाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

त्यसैगरी, धनकुटा नगरपालिका–९ मुलघाटस्थित प्रहरी चौकी मुलघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले सवारीसाधन जाँच गर्ने क्रममा लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश नं.प्रदेश न.१-०२-००१ ज ४५१९ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई शंका लागी जाँच गर्दा खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ स साना प्लास्टिकमा प्याक गरिएको २५ वटा पोका, खुला अवस्थामा रहेको हरियो रङका ५० वटा क्याप्सुल र सुन्तला रङका ४५ वटा ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थको प्लास्टिकबाहेक तौल १ ग्राम २३० मिलिग्राम रहेको छ।

पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ देउरालीका २४ वर्षीय प्रविन राई रहेका छन्। दुवै घटनामा पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।