विराटनगर । नेकपा (एमाले)कोशी प्रदेश कमिटी सदस्य तथा एमाले इलामका पूर्व जिल्ला सचिव उमेश गुरुङले पार्टीको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरेका छन्। झन्डै ३८ वर्ष लामो राजनीतिक यात्रापछि उनले एमालेका सम्पूर्ण जिम्मेवारी त्याग गरेको घोषणा गरेका हुन् । उनले मनभित्र नआँटेका कुराहरू ‘शीर्षकको’ वक्तव्य जारी गर्दै एमालेका सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यताबाट अलग भएको घोषणा गरेका हुन्।
गुरुङले पार्टीभित्र मौलाएको गुटबन्दी, नातावादका कारण निष्ठावान् कार्यकर्ताहरू पाखा लागेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले गत कात्तिकमा भएको जिल्ला अधिवेशनमा गुटभन्दा बाहिर रहेर स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिँदा ओली गुटको निर्देशनमा आफूलाई पाखा लगाइएको आरोप लगाएका छन् । उनले पार्टीले १९ महिनासम्म जिम्मेवारीविहीन बनाइएको बताए । उनलाई असार ३ गते मात्रै उनलाई प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको थियो।
गुरुङले २०४५र४६ को जनआन्दोलनका बेला तत्कालीन नेकपा माले बाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०५१ मा गाउँ कमिटी सदस्य, २०५४ मा सचिव, २०६३ मा जिल्ला कमिटी सदस्य हुँदै ८ वर्ष एमाले इलामको होलटाइमर ९उपसचिव० र सचिव का रूपमा सक्रिय थिए। यसका साथै उनी २०६७ मा नेपाल पत्रकार महासङ्घ इलामको अध्यक्षसमेत बनेका थिए।
उनले सङ्गठन निर्माणका क्रममा भोगेका दुःख र पीडाको स्मरण गर्दै उनले राजनीतिक प्रतिशोधका कारण अस्थायी शिक्षकको जागिर गुमाउनुका साथै २०४८ मा १६ दिन हिरासत भोगेको जनाएका छन्। जौ बारी र मानेभञ्ज्याङमा पटक पटक आक्रमणमा परेका गुरुङ २०६० जेठमा २८ दिन माओवादी अपहरणमा समेत परेका थिए।
पार्टीप्रतिको समर्पणका कारण भोगेको व्यक्तिगत क्षतिको स्मरण गर्दै उनले लेखेका छन् ‘२०६८ चैत २७ मा सुकिलुम्बा विमानस्थल शिलान्यास कार्यक्रममा पार्टीको अनिवार्य उपस्थितिको उर्दी पालना गर्न जाँदा सिलिगुडी अस्पतालमा मृत्यु शैयामा रहेकी धर्मपत्नी मिनालाई छोडेर आउनुपरेको र सोही रात उनको निधन भएको थियो। ’ उनले उक्त शोकका कारण १४ दिनपछि आमालाई पनि हृदयाघातका कारण गुमाउनुपरेको उनले उल्लेख गरेका छन्।
एमाले नेता गुरुङले पार्टी विभाजनका बेला सधैँ मूलधारमै उभिए पनि सिङ्गो जीवन एमालेमा व्यर्थै बिताएको महसुस भएको उनले बताएका छन्। आफ्ना शुभचिन्तकहरूसँग क्षमा माग्दै र राजनीतिक जीवनमा सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै उनले बाँकी जीवन सामाजिक अभियान र लेखनमा समर्पित गर्ने घोषणा गरेका छन्।











