विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा हिजो साँझ भएको घटनामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । देवानगञ्ज गाउँपालिका वडा नम्बर १ मध्य हर्षाहीस्थित बिपी चोकमा दुई समूहबिचको झगडामा स्थानीय नीरजकुमार यादव घाइते भएका थिए । प्रहरीले सुरुमा यादवलाई गोली हानिएको बताएको भए पनि अहिले भने अनुसन्धान भइरहेको बताएको छ । सो घटनामा संलग्न २ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

घटनामा संलग्न रहेको आरोपमा देवानगञ्ज–२ का १८ वर्षीय विष्णु कुमार यादव र २६ वर्षीय लाली भन्ने जयकृष्ण यादवलाई नियन्त्रणमा लिइएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

शनिवार साँझ भएको घटनामा घाइते भएका  २४ वर्षीय नीरज कुमार यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम छ। 

प्रहरीका अनुसार देवानगञ्ज–१ यादव टोलका नीरजकुमार यादव र उनका छिमेकी तथा भतिजा पर्ने विवेककुमार यादव हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्कने क्रममा १५ जनाको समूहले आक्रमण गरेको थियो ।  लक्ष्मी मन्दिरनजिक करिब १५ जनाको समूहले मोटरसाइकल रोकेर कुटपिट गरेको थियो । सोही क्रममा पछाडिबाट गोली प्रहार भएको र नीरजको दायाँ हिपमा गोली लागेको जस्तो प्वाल देखिएको स्थानीयले बताउँदै आएका छन्।

घाइते नीरजले पनि आफूमाथि गोली प्रहार भएको बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको र अस्पतालको रिपोर्ट पछि मात्र स्पष्ट हुने जानकारी दिएको छ।  घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। उनीहरूका बिचमा किन झगडा भयो भन्ने विषयमा प्रहरीले बताएको छैन ।