इटहरी — विद्यालय तहका बालबालिकामा आँखासम्बन्धी समस्या पहिचान गर्न रोटरी क्लब अफ इटहरीले सञ्चालन गरेको अभियानअन्तर्गत इटहरी–८ स्थित सरस्वती सतन स्कुलका २ सय ९२ विद्यार्थीको आँखा परीक्षण गरिएको छ।
परीक्षण गरिएका बालबालिकामध्ये ११ प्रतिशतमा आँखासम्बन्धी समस्या देखिएको रोटरी क्लब अफ इटहरीले जनाएको छ।
रोटरी क्लब अफ इटहरीले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिरहेको नियमित आँखा परीक्षण तथा उपचार अभियानअन्तर्गत बुधबार विद्यालयमा परीक्षण गरिएको हो।

क्लबका अध्यक्ष चेतन धमलाका अनुसार परीक्षणका क्रममा समस्या देखिएका बालबालिकालाई आगामी असोज ३ गते शनिबार इटहरी आँखा अस्पतालमा उपचार गरिनेछ।
रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालको सहकार्यमा १४ वर्षमुनिका बालबालिकाको आँखा परीक्षण तथा उपचार गर्दै आएको छ।
अभियानअन्तर्गत हरेक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकालाई निःशुल्क आँखा उपचार सेवा उपलब्ध गराउँदै आएको कार्यक्रम संयोजक अञ्जु शाक्यले बताइन्।
विद्यालय उमेरमै आँखाको समस्या पहिचान गरी समयमै उपचार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।











