सुनसरी । कोसी प्रदेशमा महिला फुटबलको विकास र खेलाडी उत्पादनलाई लक्ष्य गर्दै इटहरीमा इटहरीमा हुने प्रदेशस्तरीय महिला फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ ।
इटहरी फुटबल क्लबको आयोजनामा असार १५ गतेदेखि २० गतेसम्म इटहरी–९ स्थित प्रादेशिक रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा कोसी प्रदेशका विभिन्न जिल्लाका ८ टोली सहभागी हुनेछन् । प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा फेयर फुटबल क्लब सुनसरी, काँकडभिट्टा महिला फुटबल क्लब झापा, बेलबारी फुटबल क्लब मोरङ र सृजनशील महिला फुटबल क्लब तेह्रथुम रहेका छन् ।
त्यस्तै समूह ‘बी’ मा धनकुटा जिल्ला फुटबल संघ, आत्मा पवित्र फुटबल क्लब इलाम, गाईघाट फुटबल क्लब उदयपुर र आयोजक इटहरी फुटबल क्लब रहेका छन् ।
खेल तालिका अनुसार उद्घाटन खेल असार १५ गते बिहान फेयर फुटबल क्लब र काँकडभिट्टा महिला फुटबल क्लबबिच हुनेछ ।
त्यसै दिन दिउँसो बेलबारी र सृजनशीलबिच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ का खेल असार १६ र १८ गते सञ्चालन हुनेछन् भने फाइनल खेल असार २० गते बिहान हुने प्रतियोगिता संयोजक दिपेन तामाङले जानकारी दिए ।
कोसी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पाउनेछ ।
नेपालमा पुरुष फुटबलका प्रतियोगिता वर्षभरि जसो भइरहने भए पनि महिला फुटबलका प्रतियोगिता भने तुलनात्मक रूपमा निकै कम हुने गरेको अवस्थामा इटहरीमा गोल्डकप आयोजना गरिएको सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव कार्कीले जानकारी दिए ।
स्थानीय स्तरमा यस्ता प्रतियोगिताले ग्रामीण तथा नगर क्षेत्रका प्रतिभावान् महिला खेलाडीलाई अवसर दिनुका साथै भविष्यमा प्रदेश र राष्ट्रिय टोलीका लागि खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।