सुनसरी – विभिन्न कारणले तीन पटक मिति सरेको कोशी प्राइड लिग (केपीएल) क्रिकेट अन्ततः शुक्रबारदेखि सुरु हुने भएको छ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित डा. खलिल अजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा तीन भारतीयसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

आयोजकका अनुसार नेपालबाट इटहरी किंग्स, मिल्स क्रिकेट एण्ड एकेडेमी विराटनगर र छिन्नमस्ता क्रिकेट क्लब सप्तरीले सहभागिता जनाउनेछन्।

भारतबाट आरएमएल स्पोर्ट्स एकेडेमी दिल्ली, एचपीसीए स्पोर्ट्स क्लब पटना र केसीसी क्रिकेट क्लब बिरपुर मैदान उत्रनेछन्।

शुक्रबार उद्घाटन हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् भने फाइनल खेल असार २३ गते आयोजना गरिनेछ।

प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

यस्तै उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को तालिकासँग तालमेल नमिल्दा निर्धारित समयमा कोशी प्रिमियर लिग आयोजना गर्न नसकिएको केपीएल ग्रुपले जनाएको छ।

क्रिकेट गतिविधिलाई निरन्तरता दिन नेपाल–भारत दुई देशीय आमन्त्रित टी–२० प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

यसअघि जेठ ९ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिताको ट्रफी नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द ले अनावरण गरेका थिए।

तर विभिन्न कारणले प्रतियोगिता पटक–पटक स्थगित हुँदै आएको थियो।