इटहरी । इटहरीस्थित नमुना कलेजले प्लस टु तहमा अध्ययन गर्न चाहने खेलाडी विद्यार्थीहरूका लागि ‘नमुना स्पोर्ट्स स्कलरसिप–२०८३’ कार्यक्रम घोषणा गरेको छ।
क्रिकेट, फुटबल, भलिबल, बास्केटबल लगायत विभिन्न खेलमा रुचि, प्रतिभा र क्षमता भएका विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको कलेजले जनाएको छ।
कलेजका अनुसार एसईई उत्तीर्ण गरी प्लस टु अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले खेलकुद छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।
छात्रवृत्तिका लागि आवेदन फाराम भर्ने अन्तिम मिति जेठ २२ गते तोकिएको छ भने जेठ २३ गते बिहान ११ बजे छात्रवृत्ति छनोट प्रक्रिया सञ्चालन गरिनेछ।
छात्रवृत्ति छनोट कार्यक्रम कलेज परिसरमै हुने जनाइएको छ। कलेजले विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स र कानून संकायमा अध्ययनका अवसर उपलब्ध गराउँदै आएको छ।
कलेजले स्थापना गरेको नमुना ब्लास्टर्ड कोसी प्रिमियर लिग सिजन दुईको च्याम्पियन टोली हो ।
दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल जस्ता अन्तर्राष्ट्रिय खेलाडी सम्मीलित नमुना ब्लास्टर्डमा नमुना कलेजको लोकप्रिय टिमको रूपमा चिनिन्छ । कलेजले नमुना सुपर कप अन्तर कलेज क्रिकेट समेत सञ्चालन गर्दै आएको छ ।
खेलकुद र शिक्षालाई सँगसँगै अघि बढाउने उद्देश्यसहित ल्याइएको छात्रवृत्ति कार्यक्रमले प्रतिभाशाली खेलाडी विद्यार्थीलाई उच्च शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको कलेजले जनाएको छ।
















