सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलबाट नेपाल डिभिएम स्कुल र जनता माध्यमिक विद्यालय इटहरी फाइनलमा प्रवेश गरेका छन्। अब उपाधिका लागि यी दुई चिरप्रतिद्वन्द्वी टोलीबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ।
पहिलो सेमिफाइनलमा नेपाल डिभिएम स्कुलले कोशी सेन्ट जेम्स स्कुललाई १० विकेटले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गर्यो।
टस जितेर ब्याटिङ गरेको कोशी सेन्ट जेम्सले १० ओभरमा ७ विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो। टोलीका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।
डिभिएमका लागि शंकर पाण्डे र दिवस बिष्टले समान २–२ विकेट लिए भने युनिस खड्का र डेनिस बुढाथोकीले १–१ विकेट हात पारे।
५० रनको सामान्य लक्ष्य पछ्याएको डिभिएमले ५ ओभर ४ बलमै विकेट नगुमाई लक्ष्य पूरा गर्यो।
टोलीका आयुष पोखरेलले १७ बलमा २६ रन तथा गिरिस भट्टराईले ११ बलमा १७ रनको योगदान दिए।
यता दोस्रो सेमिफाइनलमा जनता मावि इटहरीले विश्व आदर्श स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो।
यससँगै विद्यालय क्रिकेटका दुई स्थापित टोली डिभिएम र जनता माविबीच उपाधिका लागि पुनः प्रतिस्पर्धा हुने भएको छ।
यी दुई टोली यसअघि दुई पटक फाइनलमा आमनेसामने भएका छन्।
यसअघि दोस्रो संस्करणको डिभिएम कपमा आयोजक डिभिएम बिजयी भएको थियो भने कस्तुरी कपमा जनता माबि बिजयी भएको थियो ।
दुवैले एक–एक पटक उपाधि जितेकाले यसपटकको फाइनललाई थप रोचक र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ।
सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाभरका २० विद्यालयको सहभागिता छ।
















