सुनसरी । तेस्रो संस्करणको इटहरी मेयर कप अन्तरपालिका क्रिकेट प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले लगातार तेस्रो पटक जित्दै प्रतियोगितामा आफ्नो दबदबा कायम राखेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मोरङको कटहरी गाउँपालिकालाई २७ रनले पराजित गर्दै विराटनगरले उपाधिको ह्याट्रिक पूरा गरेको हो ।
यसअघि पनि प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको उपाधि विराटनगरले नै जितेको थियो । ती दुवै संस्करणमा विराटनगरले फाइनलमा इटहरी उपमहानगरपालिकालाई हराएको थियो । यसपटक पनि विराटनगरले आफ्नो सशक्त प्रदर्शनलाई निरन्तरता दिँदै तेस्रो संस्करणको ट्रफी उचालेको हो ।
इटहरीस्थित डीभीएम स्कुल परिसरको खेल मैदानमा भएको फाइनलमा पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । विराटनगरका कृतिक कामतले अविजित ५६ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । ४५ बल सामना गरेका उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
कप्तान फिर्दोस अन्सारीले पनि आक्रामक ब्याटिङ गर्दै २३ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले समान ४–४ चौका र छक्का प्रहार गर्दै विपक्षी बलरमाथि दबाब बनाएका थिए । दीपक पासवानले ३२ रन थप्दा विराटनगरले अतिरिक्त २० रन समेत प्राप्त गरेको थियो ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको कटहरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन मात्र बनाउन सक्यो । कटहरीका ब्याटरहरूले केही समयसम्म संघर्ष गरे पनि ठूलो लक्ष्य भेट्टाउन सफल भएनन् ।
कटहरीका कप्तान लब कामतले उत्कृष्ट प्रदर्शन गर्दै ८ चौकाको सहयोगमा ४९ रन बनाए । उनले टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त साथ नपाउँदा कटहरी उपाधिबाट टाढियो । रुद्र प्रताप शाहले २९ रन बनाए भने दिपु भुजेलले १३, निर्देश बस्नेतले १२ र अभय कामतले ११ रनको योगदान दिए ।
बलिङतर्फ विराटनगरका श्रवण किस्कु, अमर यादव र श्रवण यादवले समान २–२ विकेट लिँदै कटहरीको ब्याटिङ लाइनअपलाई दबाबमा राखे ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका विराटनगरका कप्तान फिर्दोस अन्सारी ‘प्लेयर अफ द फाइनल’ घोषित हुँदै १ हजार ५ सय रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए ।
यस्तै विराटनगरका दिपेश कँडेल प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ तथा ‘बेस्ट बलर’ घोषित भए । उनले सर्वोत्कृष्ट खेलाडी बनेबापत ७ हजार रुपैयाँ र बेस्ट बलर बनेबापत थप ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । कटहरीका लब कामत ‘बेस्ट ब्याटर’ घोषित भए । प्रतियोगिताभर १ सय १४ रन बनाएका उनले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
उपाधिसँगै विराटनगर महानगरपालिकाले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता कटहरी गाउँपालिकाले ४० हजार रुपैयाँमा चित्त बुझायो ।
इटहरी उपमहानगरपालिकाको संयोजनमा आइडियल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेशका १२ वटा पालिकाका टोलीहरूको सहभागिता रहेको थियो । विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता र राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार बिष्टले पुरस्कार वितरण गरेका थिए ।

















