सुनसरी । नेपाली क्रिकेटको मैदानमा लामो समयदेखि अम्पायरका रूपमा सक्रिय भास्कर अर्याल अब रहेनन्। विराटनगर–४ निवासी ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको हो। उनको असामयिक निधनले क्रिकेट क्षेत्रलाई स्तब्ध बनाएको छ।

विगत एक महिनादेखि जण्डिसबाट पीडित अर्यालको अस्पतालमा दुई सातासम्म उपचार गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नआएपछि चिकित्सकले थप उपचार सम्भव नरहेको बताएका थिए। त्यसपछि गत आइतबार परिवारले उनलाई घर ल्याएको थियो। घरमै उपचार र हेरचाह भइरहेका बेला आइतबार बिहान उनको निधन भएको हो।

दुई दशकभन्दा बढी समय क्रिकेटसँग जोडिएका अर्यालले अम्पायरको भूमिकामार्फत खेलको विकासमा निरन्तर योगदान पुर्‍याएका थिए। उनी क्रिकेटको लेभल–वान अम्पायर थिए। विभिन्न प्रतियोगितामा उनले निष्पक्ष र जिम्मेवार भूमिकासहित अम्पायरिङ गर्दै क्रिकेट वृत्तमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।

खेल क्षेत्रसँगै अर्यालले पत्रकारिता तथा प्रकाशन क्षेत्रमा पनि योगदान दिएका थिए। उनले करिब एक दशकसम्म कान्तिपुर पब्लिकेसनको विराटनगरस्थित छापाखानामा प्रेस सहयोगीका रूपमा काम गरेका थिए।उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

अर्यालको निधनप्रति कोशी प्रदेश क्रिकेट संघ र नेपाल क्रिकेट संघ (क्यान)ले दुःख व्यक्त गरेका छन्। दुवै संस्थाले उनको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनको आजै दिउँसो विराटनगरस्थित परोपकारघाटमा अन्त्येष्टि गरिएको क्रिकेट अम्पायर कमलेश ठाकुरले जानकारी दिएका छन्।