सुनसरी — तेस्रो मेयर कप अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलमा मोरङको विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका विजयी भएका छन्। इटहरीस्थित डिभिएम स्कुलको खेलमैदानमा भएको दोस्रो खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको त्रियुगा नगरपालिकालाई ८ विकेटले सहज रूपमा पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको त्रियुगा १४ ओभरमै ५५ रनमा समेटिएको थियो।

त्रियुगाका लागि पप्पु यादवले ३२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। विराटनगरका दिपेश कँडेल, मेहबुब बाबु इराकी र अमर यादवले समान ३–३ विकेट लिएर त्रियुगाको ब्याटिङ लाइन ध्वस्त पारे।IMG_7034

५६ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगरले ५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। विराटनगरका रितिक कामत २३ रनमा अविजित रहे भने टोलीले १९ रन अतिरिक्त प्राप्त गरेको थियो। उत्कृष्ट बलिङ प्रदर्शन गरेका मेहबुब बाबु इराकी प्लेयर अफ द म्याच घोषित भए।

यसअघि शुक्रबार भएको पहिलो खेलमा कटहरी गाउँपालिकाले मोरङको सुन्दरहरैचा नगरपालिकालाई ५० रनले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो।

ओसिलो पिचका कारण १४ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कटहरीले ७ विकेट गुमाउँदै १३३ रन बनाएको थियो।

कटहरीका लागि लव कामतले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ४६ रनको अविजित पारी खेले। उनले ५ चौका र १ छक्का प्रहार गरे।

रबिन्द्र यादवले २७ बलमा ३६ रन बनाए भने दीपु भुजेल १५ रनमा अविजित रहे। सुन्दरहरैचाका अनिल लामिछानेले ३ विकेट लिए।

१३४ रनको लक्ष्य पछ्याएको सुन्दरहरैचा १३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमै सीमित भयो। आदित्य बिक र ज्ञातब्य सुवेदीले समान १४–१४ रन बनाए भने अनिल लामिछानेले १३ रन जोडे।

कटहरीका प्रेम कामत, अभय कामत र लब कामतले समान २–२ विकेट लिएपछि सुन्दरहरैचाका ब्याट्सम्यान खुलेर खेल्न सकेनन्।

अलराउन्ड प्रदर्शन गरेका लब कामत प्लेयर अफ द म्याच घोषित हुँदै नगद १ हजार ५ सय रुपैयाँबाट पुरस्कृत भए।