धनकुटा । धनकुटाको हिलेस्थित नं. २ वाहिनी अड्डा मा आयोजित वाहिनीपति ट्रफी–२०८३ मा भोजपुरको नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट घोषित भएको छ ।
वैशाख २३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नयाँ श्रीनाथ गणले भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्स, बक्सिङ र तेक्वान्डो गरी ६ विधामा प्रथम स्थान हासिल गर्दै वाहिनीपति ट्रफी उचाल्न सफल भएको हो ।
त्यसैगरी धनकुटाको भीमदल गण ले पौडी र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान प्राप्त गरेको थियो ।
मोरङस्थित शिवदल गणले जुडोतर्फ प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गण–गुल्म, खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई ट्रफी, मेडल, प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको समापनसँगै सर्वोत्कृष्ट बनेको नयाँ श्रीनाथ गणलाई वाहिनीपति ट्रफी हस्तान्तरण गरिएको थियो ।
नं. २ वाहिनी अड्डाका अनुसार सेनाभित्र सामूहिक भावना तथा ‘एस्प्रिट डी कोर’ को विकास गर्दै उत्कृष्ट खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले सैनिक संगठनभित्र अनुशासन, समन्वय र खेल संस्कृतिको विकासमा समेत टेवा पुर्याएको जनाइएको छ ।
वैशाख २३ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा फुटबल, बास्केटबल, भलिबल, जुडो, बक्सिङ, तेक्वान्डो, कबड्डी, स्विमिङ र एथलेटिक्स गरी ९ विधाका खेल समावेश गरिएको थियो ।
प्रतियोगितामा धनकुटाको भीमदल गण, सुनसरीको भगवतीदल गण र भीमकाली गुल्म, मोरङको शिवदल गण, भोजपुरको नयाँ श्रीनाथ गण, संखुवासभाको इन्द्रदल गुल्म र रणदल गुल्म तथा तेह्रथुमको शत्रुमर्दन गुल्म सहित कोशी प्रदेशका विभिन्न गण तथा गुल्मको सहभागिता रहेको थियो ।

















