सुनसरी — वित्तीय अनुशासन नभएको भन्दै आलोचित बनेको नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गरेको छ ।
विराटनगरमा आइतबार सम्पन्न साधारणसभाले विभिन्न ६ वटा निर्णय पारित गर्दै एनपीएलबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साधारणसभाले संघको आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्दै सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ । साधारणसभाले एसीसी/आईसीसीबाट थप कार्यक्रम आएमा त्यसअनुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिइएको छ ।
जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णय गरिएको छ भने यसै वर्षदेखि हरेक डिसेम्बरमा ‘क्यान एनुअल अवार्ड्स’ घोषणा गर्ने निर्णय पनि गरेको छ । उक्त अवार्डअन्तर्गत उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, लाइफटाइम एचिभमेन्ट र ‘मोमेन्ट अफ द इयर’ अवार्ड प्रदान गरिने प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
प्रादेशिक क्रिकेट संघ कोशीको संयोजनमा सुरु भएको साधारणसभा आइतबार र सोमबार दुई दिनसम्म चल्ने बताइए पनि आइतबार नै सम्पन्न भएको घोषणा गरिएको सहभागी सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेलले जानकारी दिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको साधारण सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले कानुनको पालना गर्दै पारदर्शी ढंगले अघि बढ्न नेपाल क्रिकेट संघलाई आग्रह गरेका छन् । उनले नेपालमा कानुन मिच्नेलाई शक्तिशाली ठान्ने प्रवृत्ति रहेको उल्लेख गरे । उनले भने, ‘हामी सबै कानुनको पालना गर्नेतर्फ उन्मुख हुनुपर्छ । हाम्रो नेपालमा कसले कति कानुन मिच्यो, त्यसलाई बलियो ठानिन्छ । तर, अन्तर्राष्ट्रिय स्तरमा कसले कति कानुन मान्छ, त्यसलाई बलियो मानिन्छ । त्यसैले सबै क्रियाकलाप पारदर्शी हुनुपर्छ ।’
मेहताले कुनै पनि संघ कुनै एक व्यक्तिको मात्र नभएको उल्लेख गर्दै नेतृत्व बलियो भए संगठन पनि बलियो हुने बताए । नेपालमा क्रिकेटले उल्लेखनीय प्रगति गरिरहेकाले संघ विवादमा अल्झिन नहुने उनको भनाइ थियो । ढिलै भए पनि क्यानले साधारणसभा आयोजना गरेको भन्दै उनले खुसी व्यक्त गरे । कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभा गर्न ढिलाइ भएको बताए । यस विषयमा एसीसी र राखेपलाई जानकारी गराइसकिएको उल्लेख गर्दै उनले क्यानले नेपाली क्रिकेटका लागि गौरवमय काम गर्दै आएको दाबी गरे ।
क्रिकेटलाई विकेन्द्रीकृत गर्ने योजनाअनुसार सातै प्रदेशमा साधारणसभा गर्ने निर्णयअनुसार यसपटक विराटनगरमा गरिएको उनको भनाइ थियो । क्यानका सचिव पारस खड्काले प्राविधिक तथा व्यावहारिक कारणले वार्षिक साधारणसभा केही ढिलो भएको बताए । यसअघि क्यानले २०८१ असोजमा साधारणसभा गरेको थियो ।

















