सुनसरी– १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज मोरङले जितेको छ। सोमबार इटहरी रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्णय अन्तिम समयमा भयो। खेलको ८७औँ मिनेटमा दोर्जे तामाङले गरेको एकमात्र गोल नै गछियाको जितका लागि निर्णायक बन्यो। रामवाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट हुँदै आएको अवस्थामा दोर्जेले उत्कृष्ट फिनिसिङ गर्दै जाली चुमाएपछि गछिया उपाधि नजिक पुगेको थियो।
निर्णायक गोलकर्ता दोर्जे तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गर्न सफल भए। उपाधिसँगै विजेता गछियाले नगद १० लाख रुपैयाँसहित ट्रफी हात पार्यो भने उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझायो।
व्यक्तिगत विधातर्फ गछियाका सुजन चौधरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १ लाख रुपैयाँ पुरस्कार जिते। प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर र प्रतापसिंह राई उत्कृष्ट मिडफिल्डर घोषित भए। यस्तै गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड र अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। यी सबैले जनही नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
प्रतियोगिताभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारु सर्वाधिक गोलकर्ता बन्दै नगद २५ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए। राष्ट्रिय जागृति क्लबका युजन राई उदयमान खेलाडी घोषित हुँदै ३२ इन्चको एलईडी टिभी पुरस्कार प्राप्त गरे।
फाइनल प्रवेशको यात्रामा प्लानिङ ब्वाइजले अन्तिम सेमिफाइनलमा सातदोबाटो युथ क्लब ललितपुरलाई ६–१ को फराकिलो अन्तरले हराएको थियो। यता, गछियाले पहिलो सेमिफाइनलमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो। क्वाटरफाइनलमा भने गछियाले नाइजेरियन क्लब जस्ट जोन एफसीलाई हराउँदै आफ्नो चुनौती मजबुत बनाएको थियो।
राष्ट्रिय जागृति क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा दुई विदेशी टोलीसहित आठ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता चैत्र ३० गतेदेखि सुरु भएको थियो।

















