सुनसरी  । नमुना सुपर कप अन्तर–कलेजस्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि इटहरीको विश्व आदर्श कलेजले जितेको छ ।

आइतबार सम्पन्न फाइनल खेलमा झापा दमकस्थित आस्था कलेजलाई ७६ रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वआदर्शले उपाधि जितेको हो ।

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १६ रनको योगफल खडा गरेको थियो । उसका लागि आकाश सर्राफले २४ र रोशन खत्रीले १६ रन बनाएका थिए । आस्था कलेजका छबिलाल खड्काले ३ र सौजन घिमिरेले २ विकेट लिए । 

जवाफमा १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको पूर्व राष्टिय खेलाडी लाक्पा लामाको टिम आस्था कलेज १२ दशमलव १ बलमा ४० रनमै समेटियो । आस्थाका कप्तान भुपाल दंगाल ६ रनमै आउट भएपछि टिम दबाबमा परेको थियो । क्वाटरफाइनलमा ७९ रन र सेमिफाइनलमा ६४ रन बनाएर टिमलाई फाइनलसम्म पुर्याएका दंगाललाई पाँचौ ओभरमा समिर तिम्सिनाले भुपाल लुइँटेलबाट क्याच आउट गराएपछि खेल विश्वआदर्शको पक्षमा आएको थियो ।

आस्थाका आशिष राणाले १४ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । विश्वआदर्शका रोहन शाहले महत्वपूर्ण ४ विकेट लिए । २ ओभर बलिङ गरेका उनले केवल ५ रनमात्र खर्चिए । ३ ओभर बलिङ गरेका भुपाल लुइँटेलले ७ रन खर्चिएर ३ विकेट लिए । 

विश्वआदर्शका रोहन शाह ‘म्यान अफ द म्याच फाइनल’ घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर आस्थाका भुपाल दंगाल भए । प्रतियोगिताभर उनले १ सय ५० रन बनाउनुका साथै ३ विकेट लिएका थिए । विश्वआदर्शका कप्तान भुपाल लुइँटेल उत्कृष्ट बलर घोषित भए । उनले खेल अवधिभर जम्मा ११ विकेट लिएका थिए । प्रतियोगिताको विजेता टोली विश्वआदर्शले नगद ३० हजार रुपैयाँ र उपविजेता आस्था कलेजले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाएको छ ।

विजेता तथा उपविजेतालाई कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, क्यान सुनसरी अध्यक्ष सीपी पौडेल, हिसान कोशी प्रदेशका कार्यबाहक अध्यक्ष गणेश दुलाल, केन्द्रीय सदस्य केशव खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ कलेजका टिमहरूको सहभागिता थियो । कोसी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान र कलेजस्तरीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले सुरुवात गरिएको प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने कार्यक्रम संयोजक मुक्तिराज सुवेदीले बताए ।