सुनसरी  ।  विश्व आदर्श र आस्था कलेज इटहरीमा जारी नमुना सुपर कप अन्तर–कलेज स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नमुना कलेज इटहरीलाई १८ रनले पराजित गर्दै विश्व आदर्शले फाइनलमा स्थान सुरक्षित गरेको हो । आस्थाले महेन्द्र मोरङ क्याम्पसमाथि ८ रनको जित दर्ता गर्दै विश्व आदर्शसँगको उपाधि भिडन्त पक्का गरेको हो । 

इटहरीस्थित जनता क्रिकेट खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विश्व आदर्शले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । उसका लागि रोहन शाहले २० बलमा २८, रोशन क्षेत्रीले २३ बलमा २८ तथा पाउल सिग्देलले १७ बलमा २२ रन जोडे । नमुना कलेजका गौरव कटवालले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ४ विकेट लिए । कृष्ण बिष्टले २ विकेट हात पारे । 

जवाफमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नमुना कलेज १९ दशमलव २ बलमा १ सय २० रनमै समेटियो। आदित्य बिकेले १३ बलमा २४ रनको आक्रामक पारी खेले पनि अन्य ब्याट्सम्यानले लामो साझेदारी बनाउन नसक्दा टोली दबाबमा आएको थियो । विपुल शाह र सक्षम ढकाल समान २०–२० रन जोडे पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा नमुना उपाधि होडबाट बाहिरियो ।

विश्व आदर्शको जितमा बलिङ प्रमुख कारक बन्यो । रिजन पाण्डेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर खेलको लय बदलेका थिए । कप्तान भुपाल लुइटेल र अनिश कुँवरले समान २–२ विकेट लिए । रिजन पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भए । 

शनिबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा झापा दमकको आस्था कलेजले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई ८ रनले पराजित गर्दै विश्व आदर्शसँगको उपाधि भिडन्त पक्का गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आस्थाले १७ ओभरमा ६ बिकेट गुमाउँदै १ सय २ रन बनाएको थियो । आस्थाका लागि कप्तान भुपाल दंगालले सर्वाधिक ६४ रन बनाएका थिए । 

१ सय ३ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्र मोरङले ८ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । उक्त खेलमा २ विकेट समेत लिएका भुपाल दंगाल म्यान अफ द म्याच भए । कोशी प्रिमियर लिग सिजन २ को च्याम्पियन टोली नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार र उपविजेताले १५ हजार पाउनेछ ।