सुनसरी । इटहरीको बिश्वआदर्श कलेजले दोस्रो हिसान कोसी फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान कोसी प्रदेशको आयोजना तथा हिसान सुनसरीको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा बिश्वआदर्शले इटहरीकै सुस्मा गोदावरी कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
इटहरी रङ्गशालामा सम्पन्न फाइनल खेलमा बिश्वआदर्शलाई उपाधि जिताउन जेनिस खड्काले निर्णायक गोल गरे ।
बिश्वआदर्शका उज्ज्वल चौधरी उत्कृष्ट गोलकिपर, एल्सन श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए ।
सुस्मा गोदावरीका शिव राई उत्कृष्ट फरवार्ड घोषित हुँदा समीर चौधरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
बुधवारदेखि भएको प्रतियोगितामा हिसानको जिल्ला स्तरीय प्रतियोगितामा विजेता तथा उपविजेता बनेको झापा, मोरङ र सुनसरी जिल्लाका जम्मा ६ वटा शिक्षालय सहभागी  थिए ।
राष्ट्रिय जागृति क्लबको प्राविधिक सहयोगमा सम्पन्न खेलको विजेता तथा उपविजेता टिमहरूलाई हिसानका केन्द्रीय सल्लाहकार लेखनाथ घिमिरे, उपाध्यक्ष मुकुन्द घिमिरे, केन्द्रीय सदस्य सागर भटराई, प्रतियोगिता संयोजक गणेश दुलाल, एन्फा कोशीका सदस्य अनुरोध थापा लगायतले शिल्ड र मेडल वितरण गरे ।
गत संस्करणको उपाधि झापा बिर्तामोडको नीदी सेकेण्डरी स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडकै आदर्श स्कुलअफ म्यानेजमेन्टले उपाधि जितेको थियो ।