सुनसरी । कोसी प्रदेशमा क्रिकेट खेलको व्यावसायिक विकास, युवा प्रतिभाको पहिचान र कलेज स्तरीय खेलाडीलाई उचित अवसर प्रदान गर्ने उद्देश्यले ‘नमुना सुपर कप अन्तर–कलेज स्तरीय ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
कोसी प्रिमियर लिग सिजन दुईको च्याम्पियन नमुना कलेजको टिम नमुना ब्लास्टर्सको आयोजनामा आगामी फागुन ७ गतेदेखि इटहरीस्थित जनता पार्क क्रिकेट ग्राउन्डमा प्रतियोगिता सञ्चालन हुने आयोजकले मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
प्रतियोगितामा कोसी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका ८ वटा कलेजको टोलीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगिता ट्वान्टी–ट्वान्टी ढाँचामा खेलाइनेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ ।
साथै ‘म्यान अफ द सिरिज’, ‘वेस्ट ब्याट्सम्यान’ र ‘वेस्ट बलर’ लगायत विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ ।
सुनसरी जिल्ला क्रिकेट संघको विशेष सहयोगमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन जोके स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्टले प्राविधिक सहयोग उपलब्ध गराउने आयोजकले जनाएको छ ।