सुनसरी । बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६ औँ संस्करणको फाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले साबिक उपविजेता चर्च ब्वाइज युनाइटेड विरुद्ध शनिवार प्रतिस्पर्धा गर्दै छ ।
धरान–१६ स्थित धरान रङ्गशालामा हुने फाइनल प्रतिस्पर्धात्मक हुने दुवै टिमको दाबी छ । फाइनल अघि शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दाबी गरे ।
दुवै कप्तान र प्रशिक्षकले एक अर्कामा परिचित टिम भएकाले एकले अर्कोलाई कमजोर नआँक्ने बताए । एन्फाले प्रतियोगिता जुधाएकै कारण दुवै टिमका खेलाडी केही खेलाडीको धरान–पोखरा–बिर्तामोड दौडधुपको कारण उत्कृष्ट प्रदर्शनमा केही कमी आउने दुवै टिमका प्रशिक्षक तथा खेलाडी स्वीकार्छन ।
एउटै क्लबबाट दुई वटा टिम बनाएर झापा र बुढासुब्बा गोल्डकपमा सहभागी चर्च ब्वाइज झापाबाट बाहिरिसकेकाले उसको ध्यान बुढासुब्बा गोल्डकपको उपाधि जित्नमा रहेको प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
गत वर्षको उपविजेता समेत रहेकाले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्ने कप्तान मिलन राईको भनाई छ ।
उता डिफिन्डिङ च्याम्पियन क्लब एनआरटीलाई पहिलो खेलमै पराजित गरेकाले आफूहरूको मनोबल उच्च रहेको प्लानिङ ब्याइजका प्रशिक्षक संञ्जित सिंहले बताए । केही खेलाडीहरू चोटका कारण समस्या रहे पनि रणनीतिक तरिकाले खेलेर फाइनल जित्ने कप्तान फागुराम थारुले बताए ।
जारी गोल्डकपको पहिलो सेमिफाइनलमा प्लानिङ ब्याइजले पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
अन्तिम सेमिफाइनलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।
फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख हात पार्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई होन्डाको स्कुटर प्रदान गरिनेछ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ताले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

















