बिर्तामोड । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज आयोजकको टिम झापा ११ फुटबल क्लबले पहिलो सेमिफाइनल खेल विभागीय टोली एपिएफ फुटबल क्लबविरुद्ध खेल्दैछ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे बिर्तामोडकै क्लब झापा ११ ले जारी राष्ट्रिय लिगमा तेस्रो स्थानमा रहेको ए डिभिजन क्लब एपिएफसँग फाइनल प्रवेशका लागि खेल्दैछ ।
आजको खेल जित्नेले कम्तिमा सात लाख ५० हजार रुपैयाँ सुरक्षित गर्नेछ ।
एपिएफ अनुभवी प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षण तथा हरि कार्कीको कप्तानीमा प्रदिप लामा, युवराज खड्का, बुद्धिमान राई, मणिकुमार लामासहित आज झापा ११ विरुद्ध उत्रिदैछ । कप्तान कार्की जारी प्रतियोगितामा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् ।
झापा ११ लाई स्थानीय समर्थकको दह्रिलो साथ रहनेछ । अधिकांश खेलाडी झापाकै भएका कारण पनि उनीहरु उच्च मनोबलका साथ एपिएफविरुद्ध मैदानमा हुनेछन् ।
प्रशान्त लक्समको कप्तानीमा रहेको झापासँग राष्ट्रिय टोलीका सदस्य रोहण कार्कीसहित समिर तामाङ, एरोन थापा, रोमन भुजेल, राजेश दाहाल र दुई विदेशी खेलाडी रहनेछन् ।
झापा ११ ले प्रिक्वार्टर फाइनलमा नेपाल पुलिस क्लबलाई २-० ले र क्वार्टर फाइनलमा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।
त्यस्तै, एपिएफले सिधै क्वार्टर फाइनल खेल्दै भुटानको रोयल थिम्पु कलेजमाथि शानदार जित दर्ता गरेको थियो ।
भुटानलाई ४-१ गोल अन्तरले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको थियो ।

















