सुनसरी । २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमीफाइनलमा आज झापा ११ फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल धरान रंगशालामा दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
दुवै टोली उपाधि नजिक पुग्ने लक्ष्यसहित मैदान उत्रँदैछन् । लिग च्याम्पियनका रूपमा चर्च ब्वाइज युनाइटेड बलियो दाबेदार मानिएको छ भने झापा ११ घरेलु समर्थकको साथमा फाइनल प्रवेशको लक्ष्यमा रहेको छ । आजको खेल विजेताले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सम्पन्न पहिलो सेमीफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले पोखराको लालीगुराँस एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । सुरुआती गोलले पछि परेको अवस्थामा समेत पुनरागमन जित निकाल्दै प्लानिङ ब्वाइज उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् । प्रतिष्ठित बुढासुब्बा गोल्डकपको उपाधि कसले उचाल्ने भन्ने चासो अहिले फुटबल प्रेमीमाझ बढेको छ ।

















