सुनसरी । प्राविधिक कारणले अस्थायी रूपमा सेवा बन्द गर्नुपरेको मंगल राशिका सदानन्द प्रणामी अस्पताल माघ १९ गतेदेखि सञ्चालनमा आउने भएको छ।
इटहरी र आसपासका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, असहाय समुदायलाई लक्षित गरी न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
मंगल राशिका सदानन्द प्रणामी अस्पताल स्थापना भएदेखि नै निःशुल्क ओपीडी सेवा, विशेषज्ञ चिकित्सकको परामर्श, स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।
हाल १५ शैयाबाट सेवा दिइरहेको अस्पताललाई आगामी दिनमा १०० शैयासम्म विस्तार गर्ने लक्ष्यसहित पूर्वाधार विकासको काम भइरहेको आयोजकले जनाएको छ।
परमहंस सन्त शिरोमणि स्वामी श्री १०८ सदानन्द महाराजको करुणा, तपस्या र प्रेरणाबाट स्थापना भएको अस्पताल विभिन्न दानी, दातृ संस्था तथा सरकारी निकायको सहयोगमा सञ्चालनमा आएको हो।
अस्पताल २०८२ वैशाख १ गते विधिवत् रूपमा सञ्चालनमा ल्याइएको थियो। यद्यपि केही प्राविधिक कारणले अस्थायी रूपमा सेवा बन्द गर्नुपरेको भए पनि समस्या समाधानपछि पुनः सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षको भनाइ छ।