सुनसरी  ।  इटहरीमा सम्पन्न सातौँ संस्करणको वडा अध्यक्ष कप अन्तर्गतको फुटबल प्रतियोगितामा  पुरुष र महिला विधाको दुवै उपाधि जागृति टोल विकास संस्थाले जितेको छ ।

इटहरी उपमहानगरपालिका वडा नं. ८ को वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत दुई दिनसम्म चलेको प्रतियोगितामा जागृतिले उपाधि जितेको हो । वडा अध्यक्ष कपमा फुटबल, भलिबल, ब्याडमिन्टन र डोरी तान लगायतका खेलहरू भएका थिए ।

सरस्वती सतन माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न पुरुष फुटबलतर्फको फाइनल खेलमा जागृतिले शिव मन्दिर टोल विकास संस्थालाई ट्राई बेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । महिला फुटबलतर्फ जागृतिले सयपत्री टोल विकास संस्थालाई ट्राई बेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ । पुरुष प्रतियोगितातर्फ वेस्ट गोलकिपर जागृति टोलका सन्दीप साह, वेस्ट मिडफिल्डर शिव मन्दिर टोलका भविश्वर बुर्जा मगर, हाइ स्कोर शिव मन्दिरकै धौला चौधरी घोषित भए भने म्यान अफ दि सिरिज जागृति टोलका राजु गच्छदार बने ।

महिलातर्फ वेस्ट गोलकिपर जागृति टोलकी सरिता चौधरी, वेस्ट मिडफिल्डर सयपत्री टोलकी सुशीला बलमपाकी घोषित भइन् भने हाइ स्कोर तथा म्यान अफ दि सिरिज सयपत्री टोलकी मञ्जु राई साही बनिन् ।

पुरुष भलिबलतर्फ पशुपति टोल विकास संस्थाले उपाधि हात पारेको छ । पशुपतिले हाम्रो टोल विकास संस्थालाई २–१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

विजेता पशुपतिले नगद १५ हजार र उपविजेता हाम्रो टोलले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। खेलमा पशुपति टोलका अङ्कित विक उदयमान खेलाडी घोषित भए ।

ब्याडमिन्टन तर्फ गीताप्रसाद धमला र भुवन दाहालको जोडी प्रथम भए । उनीहरूले नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, नेत्र गिरी र भीष्म चौधरीको जोडी दोस्रो हुँदै नगद १० हजार रुपैयाँ जिते ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई राष्ट्रिय जागृति क्लबका पूर्व अध्यक्ष तथा इटहरी ८ का समाजसेवी सन्तबहादुर डुम्जन, वडाध्यक्ष रोहित चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए ।