सुनसरी । दोस्रो डिभिएम कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको छ ।
इटहरीमा बुधवार सम्पन्न फाइनलमा आयोजक डिभिएम सगरमाथाले जनता माध्यमिक विद्यालयलाई १० रनले पराजित गर्दै उपाधि जितेको हो ।
इटहरी ९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको डिभिएम सगरमाथाले निर्धारित १० ओभरको खेलमा २ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । डिभिएमलाई उपाधि जिताउन रिवाज बोहराले नकआउट २४ रन बनाउँदा आयुस पोखरेलले पनि नकआउट २२ रनको पारी खेले ।
जवाफमा ८० रनको विजयी लक्ष्य पछ्याएको जनता मावि इटहरीले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ६९ रन मात्र बनाउन सक्यो ।
जनताको लागि एसान खानले सर्वाधिक २३ रन बनाउँदा अंकित दासले १८ र प्रवीण मण्डलले १२ रन जोडे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।
विजेता टिम आयोजक डिभिएम सगरमाथाले नगद २५ हजार र उपविजेता जनता माविले १५ हजार रुपैयाँ र टफी पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जनता माबिका एसान खान घोषित हुँदै नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।
डिभिएमका ग्रिस भटराई उत्कृष्ट ब्याटर, दिवस विष्ट उत्कृष्ट बलर र क्षितिज तिम्सिना उदयमान खेलाडी घोषित भए ।
कोसी सेन्ट जेम्सका रोमन राज अधिकारी उत्कृष्ट फिल्डर बने । उनीहरू सबैले जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार हात पारे ।
रामधुनीको युनिक एकेडेमीले अनुशासित टिमको उपाधि हात पार्दै नगद ३ हजार रुपैयाँ जित्यो ।
विजेता तथा उपविजेता टिमलाई कोसी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजीतराज पाण्डे, इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापा, डिभिएम स्कुलका प्राचार्य वेणुप्रसाद सिटौला लगायतले पुरस्कार प्रदान गरे ।
सुनसरीमै पहिलो पटक बिद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगितामा मोरङ र सुनसरीका १९ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

















