सुनसरी । इटहरीमा जारी दोस्रो डिभिएम कप अन्तर विद्यालय क्रिकेटमा आयोजक सहित जनता मावि र युनिक एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न पहिलो क्वाटर फाइनलमा सुनसरी रामधुनीको युनिक एकेडेमीले आयोजकको अर्को टिम डिभिएम कञ्चनजंगालाई ८ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
इटहरी ९ स्थित नेपाल डिभिएम ग्लोबल एकेडेमीको पिचमा टस हारेर पहिले ब्याटिङ गरेको डिभिएम कञ्चनजंगाले ८ ओभरमा छोट्टाइएको खेलमा ७ विकेटको गुमाउँदै २७ रनको झिनो स्कोर बनाएको थियो । जवाफमा २८ रनको सामान्य विजयी लक्ष्य युनिक एकेडेमीले ४ ओभरमा केवल २ विकेटको क्षतिमा पुरा गरेको थियो ।
उक्त खेलमा युनिक एकेडेमीका युनिस पौडेल प्लेयरअफद म्याच घोषित भए ।
सोमबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा आयोजक डिभिएमले सुस्मा गोदावरी स्कुलमाथि ४ रनको रोमाञ्चक जीत निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको आयोजक डिभिएमले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ८९ रनको स्कोर खडा गरेको थियो ।
जवाफमा ९० रनको विजयी लक्ष्य पछ्याएको सुस्मा गोदावरीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ८६ रन मात्र बनाउन सक्यो ।
उक्त खेलको प्लेयरअफद म्याच डिभिएमका रिवाज बोहरा घोषित भए ।
सोमबार नै सम्पन्न तेस्रो क्वाटर फाइनलमा जनता मावि इटहरीले मोरङ सुन्दरहरैचाको टेन्डर फिट स्कुललाई ६ विकेटले पराजित गर्दै सेमिफाइनल भिडन्त पक्का गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको टेन्डर फिटले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ४५ रनको सामान्य योगफल बनाएको थियो ।
जवाफमा ४६ रनको विजयी लक्ष्य जनताले ५ दशमलव २ बलमा ४ विकेट गुमाउँदै भेट्टाएको थियो ।
सो खेलको प्लेयरअफद म्याच जनता माविका उत्सव आचार्य घोषित भए ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मङ्गलवार युनिक एकेडेमी र जनता मावि बिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा आयोजक डिभिएमले मङ्गलवार बिहान हुने कस्तुरी एकेडेमी र कोसी सेन्ट जेम्स स्कुल बिचको अन्तिम क्वाटर फाइनल खेलको विजेतासँग मंगलबारनै प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक क्षितिज दाहालले जानकारी दिए ।
सुनसरीमा पहिलो पटक बिद्यालयस्तरमा लेदर बल प्रयोग गरी सुरु भएको प्रतियोगिताको फाइनल खेल बुधवार हुनेछ ।
सुनसरी र मोरङका १९ विद्यालय सहभागी प्रतियोगिताको फाइनल विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार र विधागत उत्कृष्ट हुनेले २ हजार ५ सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

















