सुनसरी । विश्वमै लोकप्रिय खेल क्रिकेटप्रति विद्यार्थीको चासो बढ्दै गएको अवस्थामा नेपालमा पनि विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यसहित DVM कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल दयानन्द वैदिक मिसन (DVM) को आयोजनामा तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का नियमअनुसार सञ्चालन हुने उक्त प्रतियोगिता DVM CUP Interschool Cricket Tournament Season–2 (T10) नाम दिइएको छ।

प्रतियोगिता पुस ९ गतेदेखी इटहरी ९ स्थित नेपाल डिभीएम स्कुलको मैदानमा हुने आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जनाएको छ।

सुनसरीमा पहिलोपटक लेदर बल प्रयोग गरी माध्यमिक तह (कक्षा १० सम्म) का विद्यार्थीहरूबीच प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

प्रतियोगितामा सुनसरी र मोरङ क्षेत्रका विभिन्न विद्यालयको सहभागिता रहने आयोजकको भनाइ छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै खेल अनुशासन, सहकार्य र आत्मसम्मान अभिवृद्धि गर्नु हो। खेलकुदमार्फत विद्यार्थीहरूले जित र हारलाई समान रूपमा स्वीकार गर्न सिक्ने, नियमको पालना गर्ने तथा निरन्तर प्रयास र लगनशीलताको महत्व बुझ्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक फिटनेस र स्वास्थ्य प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

नियमित अभ्यास र प्रतिस्पर्धा मार्फत सहनशीलता, बल तथा समग्र फिटनेस विकास हुने बताइएको छ।

यस्तै, प्रतियोगिताले प्रतिभावान विद्यार्थीलाई आफ्नो क्रिकेट कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितासम्म पुग्ने ढोका खोल्ने आयोजकले जनाएको छ।