सुनसरी । इटहरी भलिबल क्लबको आयोजनामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिता २०८२ साल माघ ७ गतेदेखि १० गतेसम्म इटहरी रंगशालामा आयोजना गरिने क्लबले जनाएको छ।

खेलकुद शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै आयोजकले इटहरी क्षेत्र कुनै समय भलिबल खेलको उर्वरभूमि रहेको जनाएको छ। २०४७, २०४८, २०७३ र २०७८ सालमा इटहरीमा राष्ट्रियस्तरका ठूला भलिबल प्रतियोगिता सम्पन्न भएका थिए, जसमा तत्कालीन चर्चित राष्ट्रिय खेलाडीहरूको सहभागिता रहेको थियो।

पछिल्ला वर्षहरूमा खेल गतिविधि कमजोर बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने, अनुशासनको विकास गर्ने तथा कुलत र गलत गतिविधिबाट टाढा राख्ने उद्देश्यसहित “स्वस्थ समाजका लागि खेलकुद” भन्ने नाराका साथ इटहरी भलिबल क्लब स्थापना गरिएको र  क्लबको पहिलो चरणको कार्यक्रमका रूपमा आयोजना हुन लागेको यस प्रतियोगितामा कोशी प्रदेशअन्तर्गतका विभिन्न पालिकाका प्रतिष्ठित टिमहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य खेलाडी, सम्बन्धित निकाय तथा खेलप्रेमीबीच आपसी समन्वय विकास गर्दै भलिबल खेललाई स्थानीय, प्रादेशिक हुँदै राष्ट्रिय स्तरसम्म संस्थागत रूपमा अघि बढाउनु रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब रु. ५ लाख ८० हजार खर्च अनुमान गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई नगद रु. १ लाख प्रथम पुरस्कार तथा रु. ५० हजार द्वितीय पुरस्कार प्रदान गरिनेछ। सेमिफाइनलमा पराजित हुने दुई टिमलाई प्रति टिम रु. १० हजार सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा राष्ट्रिय स्तरका बढीमा तीन जना खेलाडी मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

तोकिएको संख्याभन्दा बढी राष्ट्रिय खेलाडी सहभागी गराइएको पाइएमा रु. ५ हजार ‘प्रोटेस्ट फि’ तिरेर आयोजकलाई उजुरी दिन सकिने र त्यससम्बन्धी अन्तिम निर्णय आयोजक समितिले गर्ने बताइएको छ।