विराटनगर । कोशी प्रदेशमा पर्यटनका विभिन्न विधा र त्यसका आफ्नै वस्तु भए पनि प्राइम प्रडक्ट स्पष्ट नहुँदा ब्रान्डिङ र बजारीकरण गर्न समस्या भएको पर्यटनकर्मीले बताएका छन् । 
प्रदेशमा हिमाल छ, प्राकृतिक सम्पदा छ, मठमन्दिर धार्मिक तथा सांस्कृतिक वास्तुकला छ, अहिले र्याफ्टिङ,प्याराग्लाइडिङ, ट्रेल, साइक्लिङमा सम्भावना देखिएको छ ।
तर त्यस मध्ये प्रदेशको पहिचान कसलाई बनाउने ? ब्रान्डिङ र बजारीकरण कसरी गर्ने स्पष्ट नहुँदा अन्यौलता देखिएको कोशी प्रदेशका पर्यटनकर्मीहरूले बताए । 
बुधवार विराटनगरमा प्रदेश संवाद समूहले आयोजना गरेको पर्यटन नीति संवादमा बोल्ने अधिकांश पर्यटनकर्मीहरूले प्रदेशको पर्यटन पहिचान के हो भन्ने प्रश्न उठाएका थिए । 
पर्यटन पूर्वाधार, ब्रान्डिङ र बजारीकरण विषयक प्यानल छलफलमा प्यानलिष्ट समेत रहेका कोशी पर्यटन वर्ष २०८२ का सह संयोजक कृष्ण साहले प्रदेशमा ब्रान्डिङ गर्दा के को गर्ने भन्ने स्पष्ट नभएको बताए ।

उनले भने, ‘ कहिले हामी हिमाल ब्रान्डिङ गर्ने भन्छौँ, कहिले संस्कृतिको कुरा गछौँ, हाम्रो प्राइम प्रडक्ट स्पष्ट भएको छैन । हामीसँग धेरै प्रडक्ट होला तर त्यस मध्ये कुन पहिलो कुन दोस्रो हो ? त्यो पहिचान गर्नुपर्छ ।’

अर्की प्यानलिष्ट पर्यटन व्यवसायी एलिना मगरले पर्यटकले के चाहान्छन ? हामी के दिइरहेका छौँ त्यसमा तालमेल नमिलेको बताइन् । 
‘एउटै प्रडक्ट लामो समय सम्म टिक्न सक्दैन, सोचाइमा परिवर्तन आउन सक्छ । पहिले हामीले हाम्रो प्रडक्ट छुट्याऔँ अनि त्यसलाई ब्रान्डिङ र बजारीकरण गर्ने तरिका खोज्नुपर्छ ’व्यवसायी मगरको सुझाव छ । 
9

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी वासुदेव बरालले हाम्रो प्रडक्ट के को ? हाम्रो प्रतिस्पर्धा कोसँग हो भन्ने कुरामा छलफल केन्द्रित गर्नुपर्ने बताए । 
व्यवसायी बरालले प्रदेशमा क्यासिनो खोल्ने तर भारतीय पर्यटकले २५ हजार रुपैयाँ त्यो पनि सयका दरका मात्रै लाउनुपर्ने नियमले व्यवसाय कसरी चल्छ भन्दै प्रश्न गरे । 
तराईमा जङ्गल छ तर सफारी गर्न पाइँदैन आरक्षहरूलाई निकुञ्ज बनाउन बरालले माग गरे । 

पर्यटनसँग सम्बन्धी वर्गीकृत तथ्याङ्क नै नहुँदा समस्या भएको कार्यक्रममा पर्यटनकर्मीहरूले बताए । भएका तथ्याङ्कको प्रयोग पनि नभएको उनीहरूको भनाई थियो । 
प्रदेशमा प्याराग्लाइडिङको प्रशस्त सम्भावना रहेको प्याराग्लाइडिङ पाइलट सुरेन गुरुङले अनुभव सुनाए । उदयपुरको बेलका प्याराग्लाइडिङ उडान तालिम स्कुल सञ्चालन गर्दै आएका गुरुङले उडान अनुमति नहुँदा आएका पर्यटकलाई त्यसै फर्काउनुपरेको बताए । उडान अनुमति लिन कानुनी समस्या भोग्दै आएका उनले उडान अनुमति सहज बनाइदिन माग गरे । 

कार्यक्रममा बोल्दै साइकल एसोसिएसनका सुमित श्रेष्ठले पनि लाइसेन्स नहुँदा काम गर्न समस्या भएको बताए । मध्य पहाडी मार्गमा विदेशीलाई साइक्लिङ गराउन सकिने बताएका उनले सरकारले सहजीकरण गर्नुपर्ने माग गरे ।  

कोशी नदिमा २०६५ साल देखी मोटर बोट र र्याफ्टिङ व्यवसाय सञ्चालन भए पनि हाल सम्म दर्ता  र नियमनको व्यवस्था नभएको व्यवसायी राजेन्द्र कार्कीले गुनासो गरे । कहिले कानुन बन्छ भन्ने पर्खाइमा रहेको उनले बताए । जल यातायात व्यवसायमा ४० करोड बढी लगानी कसरी सुरक्षित हुन्छ भन्नेमा चिन्ता रहेको कार्कीले बताए । 

कृषिसँग पर्यटन जोड्न नसक्दा फाइदा लिन नसकेको होमस्टे महासङ्घ कोशीका सचिव, मन्जिल देवानले बताए । नेपाली कृषकहरूले दूध बिक्री गर्न समस्या रहेको तर होटलहरुले भारतको अमूल दूध आयात गरी खुवाउने गरेको गुनासो गरे । 

bikramshree

यता, पर्यटकीय पूर्वाधार निर्माणमा सरकारी निकायहरुले मुर्खता देखाइरहेको र प्रकृतिलाई क्षति पुर्याउने काम गरेको  बरिष्ठ कलाकार विक्रमश्रिले बताए । 
कलाकार विक्रमश्रिले भने, ‘अहिले टाकुरामा डोजर लगाइयो, सिमसारमा कंक्रिटले घेराबारा लगाएर सिमसार मासेकाछौँ । अफ्रिकाको विरुवा मगाएर पहाडमा लगेर रोपेका छौँ, मुर्खता पनि कति सम्म ? २०० बर्ष पुरानो घर दाउराको भाउमा बिक्रि भएका छन् । त्यसलाई संरक्षण छैन, त्यहि नै हाम्रो मौलिकता हो । ’
प्राथमिकता भनेर मन्त्रालय र निकायहरुले एक पाइला छाडेर हिँडेका छन्, त्यसलाई सच्याउनुपर्छ र तिनीहरुलाई पकड्नुपर्छ उनको सुझाव थियो । 

कोशी प्रदेशमा पर्यटन पूर्वाधार निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनमा ध्यान दिन नसकिएको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्राध्यापक कुवेर श्रेष्ठले बताए । 
इन्जिनियर श्रेष्ठले पूर्वाधार निर्माण गर्दा मानिसको थिङ्किङ, इमोसन र इनोभेसनले प्रकृतिलाई गर्ने क्षतिको मुल्याङकन गरी पूर्वाधार निर्माण गर्न सुझाव दिए । यस्तो निर्माणमा वास्तुकला भित्र लुकेको संस्कार, संस्कृति र मानवीय मूल्य मान्यतालाई ध्यान दिन आवश्यक रहेको बताए । 

राष्ट्रिय अपाङ्ग महासङ्घका सरोज नेपालीले पर्यटन पूर्वाधारहरू निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच हुने गरी अपाङ्गमैत्री संरचना निर्माण गर्न माग गरे । 

सेसनको प्यानलिष्ट रहेका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको पूर्वाधार निर्माण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरेको बताए । कोशी पर्यटन वर्ष २०८२ त्यसैको एक महत्त्वपूर्ण कार्य भएको मन्त्री मण्डलले बताए । 
पर्यटन वर्षलाई प्रभावकारी बनाउन चाँडै जिल्ला जिल्लामा पर्यटन समितिहरू विस्तार गर्न लागिएको जानकारी दिए ।

मन्त्री मण्डलले भने,‘ चाँडै जिल्ला जिल्लामा पर्यटन समितिहरू बन्दै छन्, सबै जिल्लामा पत्र जाँदै छ । समितिहरू बनेपछि थप पर्यटन सम्भावनाको खोजी हुनेछ । ’

धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री मण्डलले आगामी असारमा ठुला कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । रामधुनी र बराह क्षेत्रमा कार्यक्रम आयोजना गर्ने गरी योजना तयार गरिएको उनले बताए ।