विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ की सहनाज  खातुनको परिवारमा आर्थिक अवस्था कमजोर छ । आर्थिक अभावकै कारण हरेक दिन श्रीमान् श्रीमतीको निरन्तरको कलह भई रहने । त्यो समस्या लिएर सहनाज विराटनगर महानगरपालिका पुग्छिन् । उनको समस्याको बारेमा महानगरपालिकाले छलफल चलाउँछ तर मुख्य समस्या आर्थिक मै गएर रोकियो । त्यसपछि आर्थिक रूपमा कमजोर भएकै कारण समस्या झेल्दै आएकी सहनाजको  घरमा नै महानगरपालिकाको टोली जान्छ । उनको अवस्थाको बारेमा जानकारी लिन्छ । आर्थिक रूपमा कमजोर भएको कारण श्रीमान्बाट मानसिक तथा शारीरिक समस्या झेल्दै आएको भन्ने निष्कर्षमा पुगेको विराटनगर महानगरपालिकाको न्यायिक समिति मार्फत उनलाई बिउ पुँजीको रूपमा ५० हजार आर्थिक सहयोग गर्ने निर्णय भयो । महानगरपालिकाले उपलब्ध गराएको सहयोग रकमबाट उनीहरूले पनि धेरथोर रकम थपेर अहिले कस्मेटिक शृङ्गारका सामाग्री पसल सञ्चालन गर्दै आएका छिन् । सहजान अहिले आफैँले व्यवसाय सञ्चालन गरेको बताउँछिन् । समस्या समाधानपछि श्रीमान् श्रीमतीको विवाद पनि समाधान भएको उनले बताइन्  ।   
उनीजस्तै विराटनगर ४ की लोककुमारी भुजेलले पनि किराना पसल संचालनकोलागि ५० हजार नै बिउ पुँजी पाएपछि अहिले व्यवसाय गर्दै आएकी छिन् । लैङ्गिक हिंसामा परेर विराटनगर महानगरपालिकामा पुगेकी विराटनगर १४ की रविताकुमारी यादव अहिले सिलाई कटाई व्यवसाय सञ्चालन गरेर बसेकी छिन् । उनले पनि लैङ्गिक हिंसा निवारण कोषबाट ५० हजार बिउ पुँजी प्राप्त गरेकी थिइन् । विराटनगर महानगरपालिकामा हिंसामा परेका,  सासू ससुरा तथा श्रीमान्बाट दुर्व्यवहारमा परेका महिलाहरूलाई महानगरपालिकाको लैङ्गिक हिंसा निवारण कोष मार्फत  बिउ पुँजी उपलब्ध हुँदै आएको कानुन शाखा प्रमुख शारदा थपलियाले जानकारी दिइन्  । उपप्रमुखको संयोजकत्वमा रहेको समितिले  समस्या लिएर आएका महिलाको अवस्थाको मूल्याङ्कन गरेर कोष मार्फत सहयोग उपलब्ध गराउने गरेको जानकारी दिइन् । 
विराटनगर महानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका तथा हिंसामा परेका महिलाहरुकोलागि १७ लाख २३ हजार बढी रकम सहयोग हस्तान्तरण गरेको छ । विराटनगर महानगरपालिकाको न्यायिक समितिमा मार्फत आर्थिक वर्ष २०८०÷०८१ कोमा १० लाख ६८ हजार ४८ रुपैयाँ  लैङ्गिक हिंसा निवारण कोषबाट सहयोग वितरण गरेको थियो । चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ६ लाख ५५ हजार वितरण गरेको विराटनगर महानगरपालिकाले जनाएको छ ।  हिंसामा परेका तथा आर्थिक अवस्था कमजोर भएर कानुनी सेवा परामर्श लिन समेत नपाएका महिलाहरूलाई लक्षित गरी सो रकम उपलब्ध गराइएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् । उनका अनुसार,  लैङ्गिक हिंसा निवारण कोषमा रहेको रकमबाट महिलाहरूको रोजगारीको लागि बिउ पुँजी र  बहस पैरवी कोलागि सहयोग गर्दै आएको छ । 
अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५७ जनाले बिउ पुँजी तथा बहस पैरवी बापतको सहयोग लगेको महानगरले जनाएको छ । १४ जना हिंसामा परेका तथा न्यायिक समितिबाट मेल मिलाप नभएर मुद्दा अदालतमा गएर मुद्दा समेत लड्न नसक्ने आर्थिक अवस्था कमजोर भएका महिलाले न्यूनतम ५ हजारदेखि ४० हजारसम्म बहस पैरवीको शीर्षकमा आर्थिक सहायता प्राप्त गरेको महानगरले जनाएको छ ।   
विराटनगर महानगरपालिकाले उपलब्ध गराएको व्यवसाय पुँजी सहयोग प्राप्त गरेका महिलाहरूले चटपटे, चिया, तरकारी, गाई गोठ, फलफूल, बाख्रा पालन, सिलाई कटाई, मकै व्यापार, भक्का प्याजी तथा पकौडाको व्यापार गर्दै आएका छन् । उनीहरू अहिले आर्थिक रूपमा अरूसँग रकम माग्नु नपर्ने अवस्थामा पुगेको महानगरको दाबी छ ।  हेर्दा सामान्य र थोरै लाग्ने रकमको सहयोग भए पनि लैङ्गिक हिंसा निवारण कोषबाट उपलब्ध गराइने रकमले महिलालाई स्वरोजगार बन्न टेवा पुगेको छ ।
भिडियो रिपोर्ट