सुनसरी– हिसान इटहरी ८ किलोमिटर रनमा विदेशी खेलाडी च्याम्पियन बनेका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको आयोजनामा आइतबार सम्पन्न खुल्ला तर्फ ८ किलोमिटर रनमा केन्याली धावक जुलियस मौरीकी च्याम्पियन बनेका हुन ।

निर्धारित दुरी मौरीकीले २४ मिनेट २५ सेकेन्डमा पुरा गरेका थिए । दोस्रो भएका सरोज लिम्बुले २५ मिनेट ३१ सेकेन्डमा निर्धारित दुरी पार गर्दा ओशन राईले २६ मिनेट ५ सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो भए ।
महिला तर्फ इन्द्रकला नेम्वाङ प्रथम हुँदा जुही राई दोस्रो तथा शकुन्तला राई तेस्रो भए । इन्द्रकलाले निर्धारित दुरी ३१ मिनेट ३ सेकेन्ड, जुहीले ३२ मिनेट ३५ सेकेन्ड र शकुन्तलाले ३३ मिनेट ३१ सेकेन्डमा पुरा गरेका थिए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १२ हजार, १० हजार र ८ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

सेकेण्डरी समूह अन्तर्गत ५ किलोमिटर दुरीमा कालूमान राई प्रथम, अमर यादव दोस्रो हुँदा तेस्रो स्थानमा प्रटेस्ट परेकाले छानबिन भइरहेको जनाइएको छ । महिला तर्फको प्रथम स्थानमा पनि प्रोटेस्ट परेकाले घोषणा हुन नसकेको कार्यक्रम संयोजक सुवास लुइँटेलले जानकारी दिए । उक्त समूहमा विनीता राई दोस्रो र तिर्सना राई तेस्रो भइन ।
प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाए ।

प्राइमरी समूहको ३ किलोमिटर तर्फ प्रथम स्थानका लागि प्रोटेस्ट परेको छ । सो समूहमा रोमन माझी दोस्रो र मनिष लिम्बु तेस्रो भए । महिला तर्फ रेस्मा दर्जी प्रथम, राधा माझी दोस्रो र करिना राई तेस्रो भए ।
उनीहरूले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगितामा केही विदेशी सहित नेपालका विभिन्न जिल्लाका ८ सय बढी धावक धाविकाले प्रतिस्पर्धा गरेका थिए ।