सुनसरी । सुनसरीको इटहरीमा बिहीबार देखी हुने तेस्रो संस्करणको ओलम्पियन पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट-२०२४ को तयारी पुरा भएको छ ।
आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्ड र कार्यक्रम संयोजन गरेको संस्था नेपाल ओलम्पियन संघले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।
पहिलो संस्करण काठमाडौँ र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको ओलम्पियन पुनर्मिलन कार्यक्रम चार दिनसम्म चल्ने बताइएको छ ।
देशभर छरिएर रहेका ओलम्पियनलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टले बताए ।
विष्टका अनुसार यो पटकको कार्यक्रमको सिंगापुर, मलेसिया, बेलायत र अष्टेलियाका ओलम्पियन संघका अध्यक्ष र कमिटीका पदाधिकारीहरू र नेपालका ६० ओलम्पियनहरुको कार्यक्रममा सहभागिता रहने छ । 
         कार्यक्रमको पहिलो दिन दिन बिहान वाकाथुन हुनेछ । कोसी प्रदेशका मुख्यमन्त्री, खेलाडी र ओलम्पियन लगायतको सहभागिता रहने वाकाथुन इटहरी रङ्गशालाबाट सुरु भई इटहरी उपमहानगरपालिकाको प्राङगनसम्म पुग्नेछ ।
सोही दिन दिउसो नोबेल मेडिकल कलेज विराटनगरको सहयोगमा स्वास्थ्य शिविर हुनेछ भने साँझ सम्मान कार्यक्रम आयोजना गरिने जनाइएको छ । २१ गते बिहान टोली झापा हुँदै इलामका लागि प्रस्थान गर्नेछ । बिर्तामोड नगरपालिका र जिल्ला खेलकुद विकास समिति झापाले टोलीलाई सम्मान गर्ने कार्यक्रम रहेको विष्टले बताए । सोही दिन दिउसो इलामको सूर्योदय नगरपालिकाले स्वागत गर्ने, साँझ इलामको श्रीअन्तुमा नगरप्रमुख सहितको परिचयात्मक कार्यक्रम हुनेछ ।
ollllmm
२२ गते बिहान श्रीअन्तुबाट सूर्योदय अवलोकन तथा फिक्कलमा नगर परिक्रमा सहित अभिनन्दन र सम्मान कार्यक्रम हुनेछ । त्यसपछि ओलम्पियन टोली त्यतैबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको विष्टले बताए । 
      कोसी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई खेलकुद विकास बोर्ड कोसी प्रदेशले पुनर्मिलन गराउन पाउँदा कोसी प्रदेश खेलकुद विकास बोर्ड निक्कै उत्साहित भएको बोर्ड उपाध्यक्ष बिन्दिया कार्कीले बताइन । विश्वकै सबैभन्दा ठुलो र महाकुम्भ ओलम्पिक खेलमा सहभागी धेरै खेलाडीलाई पहिलो पटक प्रदेशमा भित्राउँदा यहाँका खेल प्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने कार्कीको भनाइ छ । 
       बोर्डले एकै पटक ओलम्पियन्स खेलाडी, प्रदेशका खेलाडी र विभिन्न राष्ट्रका ओलम्पियन्स पदाधिकारीलाई भित्राउँदा खेलाडीसँगै यहाँको पर्यटन र खेललाई प्रवर्द्धन गर्नका लागि मदत पुग्दछ भन्ने विश्वास लिएको जनाएको छ । नेपालले सन् १९६४ सालमा पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्म ओलम्पियन, ओलम्पिक स्वदेश तथा विदेशका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेल प्रेमीमाझ प्रस्तुत गरिने यो कार्यक्रम सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बोर्डले जनाएको छ ।