सुनसरी - १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्ड कपको उपाधि फुटबलको उपाधि चर्च ब्वाइजले जितेको छ । शनिवार राती सम्पन्न फाइनलमा गत संस्करणको उपबिजेता समेत रहेको चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख रुपैयाँ पाएको छ । उपबिजेतामा सीमित आर्मीले ५ लाखमा चित्त बुझाउन बाध्य भएको छ । 
ce52cd2c-2011-40db-bd89-5e344e634270
   चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरेका हुन । खेलको तेस्रो मिनेटमा नै गोल गरेर अग्रता लिएको चर्च ब्वाइजले बाँकी अधिकांश समय रक्षात्मक खेलेको थियो । आर्मीका खेलाडीले पाएका आधा दर्जन अवसरलाई सदुपयोग गर्न नसक्दा उपबिजेतामै सीमित बन्न पुग्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भए । उनले नगद १ लाख रुपैयाँ पाए । उत्कृष्ट डिफेन्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्चका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्चका सुरजज्यू ठकुरी, उत्कृष्ट प्रशिक्षक चर्चकै दर्शन भक्तराज घोषित भए । उनीहरूले जनही २० हजार पाए । सर्वाधिक गोलकर्ता डिफेण्डिङ च्याम्पियन सगरमाथाका विमल घर्ती मगर भए । 
25ed9c23-79de-4628-b33e-be40bc42f4a7
       चर्च ब्वाइज आयोजक राष्ट्रिय जागृति क्लबलाई १-० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको थियो भने आर्मीले साबिक विजेता सगरमाथा क्लब मोरङमाथि पेनाल्टी सुट आउटमा २-१ गोलको जीत हात पार्दै चर्च ब्वाइजसंगको फाइनल भिडन्त पक्का गरेको थियो । क्वाटर फाइनलमा आर्मीले बिर्तामोड युनाइटेडलाई रोकेको थियो । चर्च ब्वाइजले न्यु रोड टिम एनआरटीलाई पराजित गरेको थियो । चैत्र १० गते देखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता थियो । इटहरी उपमहानगरपालिकाले संयोजन गरेको प्रतियोगिताको कन्ट्रोल लुब्रीकेन्टले मुख्य प्रायोजन गरेको थियो ।
तस्बीर - गुरु ढकाल, सञ्चारपाटी