सुनसरी — साविक विजेता सगरमाथा युथ क्लब १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा शनिबार राति सम्पन्न उद्घाटन खेलमा सगरमाथाले बिभागीय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

DSC_5333

सगरमाथाको जितमा बिमल घर्तीमगरले २ गोल गरे भने विदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरे । खेलको सुरुवाती तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ३६ औँ मिनेटमा विमल घर्तीमगरले सुशिल राईको पासमा गोल गर्दै सगरमाथालाई २– ० को अग्रता दिलाए । दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेको एपीएफले खेलको ६६ औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । एपीएफका लागि अनिस महर्जनले गोल गरेका थिए । उनी ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

DSC_5381

कमजोर डिफेन्सको फाइदा उठाउँदै अनिसले कुलदिप कार्कीको पासमा हेड मार्फत आकर्षक गोल गरे । मछिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रेको सगरमाथाका लागि ८८ औँ मिनेटमा विमलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए ।

DSC_5541

खेलको म्यान अफ दि म्याच विमल नै घोषित भए । उनले नगद १० हजार रुपौयाँ पुरस्कार प्राप्त गरेका छन् ।  आइतबार दोश्रो क्वाटरफाइनल खेल आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारतबीच हुनेछ । एक भारतीय सहित नेपालका ८ टिम सहभागी प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

तस्बीर - गुरु ढकाल, सञ्चारपाटी