सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा साबिक विजेता सगरमाथा यूथ क्लब मोरङले मच्छिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रिने भएको छ ।
सगरमाथा १२ औँ र १३ औँ संस्करणको च्याम्पियन हो । १२ संस्करणमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले र १३ औँ मा चर्च व्बाईज युनाइटेडलाई पनि पेनाल्टी सुट आउटमै ६-५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।
आजको खेलमा पनि पुरै शक्ति लगाएर विजयी सुरुवात गर्दै सगरमाथा इटहरी गोल्ड कपको उपाधि ह्याट्रिक गर्ने होडमा रहेकाले विमल घर्ती मगर लगायतका चर्चित खेलाडी समावेश गरेको बताइएको छ । क्लबका एक सदस्यका अनुसार ५ देखी ६ जना मच्छिन्द्र क्लबका खेलाडीले सगरमाथाबाट खेल्नेछन् ।
पहिलो पटक सहभागिता जनाएको एपीएफ पनि गोल्ड कपमा सुखद सुरुवात गर्ने दाउमा छ ।
एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउनेछ ।