सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करण आजबाट सुरु हुदैछ ।
यसबर्षदेखी रात्रिकालीन समयमा सुरु गरिन लागेको गोल्ड कपको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुदैछ ।
प्रतियोगिता इटहरी रङ्गशालामा भरे साँझ साढे ६ बजेपछि फलड लाइटमा सुरु हुने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ । सगरमाथा १२ औँ र १३ औँ संस्करणको च्याम्पियन हो ।
१२ संस्करणमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले र १३ औँ मा चर्च व्बाईज युनाइटेडलाई पनि पेनाल्टी सुट आउटमै ६-५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधि उचालेको थियो ।
आजको खेलमा पनि विजयी सुरुवात गर्दै सगरमाथा इटहरी गोल्ड कपको उपाधि ह्याट्रिक गर्ने होडमा हुनेछ । पहिलो पटक सहभागिता जनाएको एपीएफ पनि गोल्ड कपमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ ।
एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिए ।